सुदर्शन थापा र नायिका पूजा शर्माको सहकार्यमा नयाँ चलचित्र बन्ने भएको छ । ‘म यस्तो गीत गाउँछु, रामकहानी, म यस्तो गीत गाउँछु २’ बनाइसकेका यो जोडीले कोरोना भाइरसको कथामा चलचित्र निर्माण गर्न लागेका हुन् । विश्वमा नै कोरोना सम्बन्धी चलचित्र बन्ने घोषणा हुन थालेका बेला  प्रेम कथालाई कोरोनाको कथासँग जोडेर चलचित्र निर्माण गर्न लागेको उनीहरूले ब ताएका छन् ।  निर्देशक सुदर्शन थापाले लकडाउन खुलेसँगै नयाँ चलचित्रको छायाङ्कनमा जाने तयारीमा पुष्टि गरेका छन् । टिमले चलचित्रको लागी नयाँ अनुहारको खोजी समेत थालेको छ । निर्मात्री तथा नायिका पूजाले चलचित्रमा नयाँ नायकलाई अनुबन्धित गर्ने तयारी गरिएको बताएकी छिन् । उनले अडिसनको माध्यमबाट नयाँ नायक चयन गरिने पनि बताइन् । यो जोडिले निर्माण गरेको चलचित्र ‘म यस्तो गीत गाउँछु २’ प्रदर्शनको तयारीमा थियो । तर लकडाउनका कारण चलचित्र रिलिज हुन पाएको छैन । बुझिए अनुसार चलचित्र ‘म यस्तो गीत गाउँछु २’को रिलिज अगाडि नै नयाँ चलचित्रको निर्माण सुरु हुने छ । चलचित्रको अन्य कास्ट एन्ड क्रुका बारेमा खुलाइएको छैन ।