पछिल्ला केही दिन यता नेपाली फिल्म इन्डस्ट्रीमा परिवारवाद र यसको असार बारे बहस भइरहेको छ । बलिउडका निकै राम्रा अभिनेता सुशान्त सिंह राजपुतको आत्महत्या सँगै फिल्म इन्डस्ट्रीमा हुने परिवारवाद र नातावादले कसरी क्षमता भएका कलाकारलाई घुँडा टेकाउँछ भन्ने यथार्थ बाहिरिइरहेको छ । नेपालमा पनि परिवारवाद र नातावाद मौलाइरहेको भनी धेरै कलाकारले यसको सिकार आफू पनि बन्नु परेको बताएका छन् । क्षमता भन्दा सम्बन्धको आधारमा चलचित्रमा कलाकारको इन्ट्री हुने भनी आलोचना भइरहेका बेला अभिनेता निर्माता दीपकराज गिरीले पनि आफ्नो विचार राखेका छन् । उनले भारतमा नेपोटिजमको कुरा उठिरहँदा नेपालमा पनि यस विषयले प्राथमिकता पाएको बताउँदै नेपालमा परिवारवाद होइन, नोप्टोजम र चेप्टोजमको समस्या रहेको बताएका छन् ।
उनले सामाजिक सञ्जालमा एक स्ट्याटस पोस्ट गर्दै आफ्ना हरूलाई काखी च्याप्ने समस्या नेपालमा पनि भएको स्वीकार गरेका छन् । उनले घुमाउरो तरिकाले केही मानिसले परिवारवाद भन्दा पनि नजिका र आफ्ना भनिएकालाई प्राथमिकता दिने गरेको भाव व्यक्त गरेका हुन् । हेरौँ के लेखेका छन् उनले: भारतमा नेपोटिजमको कुरा उठ्ना साथ यता पनि सुरु गरे साथीहरूले
तर हामी कहा नेपोटिजम होइन नेप्टोजम र चेप्टोजमको समस्या छ !
गलत मान्छेहरू यही दाउरोमा भात पकाउँछन् !!!
उनी यसमा अगाडी थप्छन्, 'सबैभन्दा पहिलो कुरा त संसारका हरेक ठॉउमा भाइ भतिजा वाद केही हद सम्म होला तर हाम्रो चलचित्र उद्योगमा छोरा छोरी होइन ट्यालेन्ट चल्छ... भारतमै पनि महान् अमिताभ बच्चनका छोरा अभिषेक नै बेरोजगार छन्, ठुला कलाकारका छोरा छोरी हुँदैमा चल्दैनन् , केही विशेष गुण हुनै पर्छ यहाँ पनि एकाध कलाकारका सन्तान छन् तर नेपोटिजम को समस्या खासै छैन.. बरु केही हद सम्म समूहवाद होला.. त्यो संसारमै हुन्छ , हाम्रो पनि समूह छ तर हामी हरेक फिल्ममा नयाँ नयाँ हिरोइनहरू सँग , नयाँ नयाँ अभिनेताहरू सँग काम गरिरहेका छौ !!!'