यस वर्ष ‘राष्ट्रिय चलचित्र पुरस्कार’ समारोह नहुने भएको छ । नेपाल लगायत विश्वलाई नै सङ्कटमा पुर्याएको कोरोना भाइरस (कोभिड १९)को कारण कुनै पनि सभा समारोह आयोजना गर्ने अवस्था नभएपछि ‘राष्ट्रिय चलचित्र पुरस्कार’ यस वर्षका लागि स्थगित भएको चलचित्र विकास बोर्डका अध्यक्ष दयाराम दाहालले जानकारी दिएका छन् । चलचित्र विकास बोर्डले यही असार १६ गते आफ्नो २०औँ वार्षिकोत्सव मनाउँदै छ । २०५७ साल असार १६ गते स्थापना भएको बोर्डले वार्षिकोत्सवको अवसरमा फिल्म कर्मीहरूलाई सम्मान तथा पुरस्कृत गर्ने गरेको छ । तर यस वर्ष बोर्डले स्थापना दिवस मात्र मनाउने छ कुनै सभा समारोह बिना नै । गत वर्ष पनि विभिन्न कारण बस रोकिएको तीन वर्षको राष्ट्रिय पुरस्कार एकै पटक बाँडिएको थियो । नवनियुक्त अध्यक्ष दाहालका अनुसार अर्को वर्ष दुई वर्ष (२०७६-०७७) को ‘राष्ट्रिय चलचित्र पुरस्कार’ एकसाथ बाँडिने छ । यस वर्ष बोर्डको वार्षिकोत्सवको अवसरमा कुनै औपचारिक कार्यक्रम आयोजना नगरिने उनले पुष्टि गरेका छन् ।