लामो समयको लकडाउनकोले रोकिएको छायाङ्कन र चलचित्र म्युजिक भिडियो लगायतको काम बिस्तारै सुरु हुने सङ्केत आएको छ । सरकारले लकडाउन केही खुकुलो बनाएसँगै फाट्टफुट्ट छायाङ्कन लगायत काम सुरु भएका छन् । लामो समयको लकडाउनको उकुसमुकुस पछि पल शाह, सागर लम्साल (बले) र रियाशा दाहालको अभिनय रहेको म्युजिक भिडियो सार्वजनिक भएको छ । भौतिक दुरी कायम गरी निर्माण गरिएको ‘ए है माया’ बोलको गीतको भिडियो बिहीबार सार्वजनिक गरिएको हो । सार्वजनिक गीतमा मेलिना राई र सरोज ओलीको स्वर छ । गीतको शब्द गायक ओली आफैले लेखेका हुन् भने दीपक शर्माको सङ्गीत, श्यामस्वेत रसाइलीको एरेन्ज रहेको छ । गीतको भिडियो निर्देशन पनि गायक ओली आफैँले गरेका छन् । भिडियोमा पल, बले र रियाशासँगै टिकटकका हिट जोडी सुधीर श्रेष्ठले पनि अभिनय गरेका छन् । भिडियोमा क्वारेन्टाइनमा रहेकी युवतीप्रतिको माया प्रेमलाई देखाइएको छ । लकडाउनले निम्त्याएको एक्लोपन हटाउन र माया प्रेमको आवश्यकता पर्छ भन्ने सन्देश गीत ले दिन खोजेको छ । विक्रम स्वारको कन्सेप्ट र कोरियोग्राफीमा निर्माण भएको म्युजिक भिडियो नवराज उप्रेतीले खिचेका हुन् । गीत 'गज्जब टिभी'को युट्युब च्यानलमा हेर्न सकिन्छ ।