काठमाडौँ लगायत देशका विभिन्न स्थानमा लकडाउन केही खुकुलो हुँदै गएको छ । लामो समयको लकडाउनले जनजीवन निकै प्रभावित भएको छ । लकडाउन खुकुलो भएसँगै अब रोकिएका चलचित्र तथा फिल्म सम्बन्धी काम सुरु हुने सम्भावना देखिएको छ । अब केही समय पछि सामाजिक दुरी कायम राखेर सुरक्षा अपनाएर निर्माताहरू छायाङ्कनको लागि तयारी गरी रहेका छन् । यसै बिच निर्देशक दिनेश पौडेल पनि लकडाउन अन्त्य हुन साथ चलचित्र छायाङ्कन गर्ने तयारीमा लागेका छन् । 'द मस्ट वान्टेड' चलचित्रबाट नेपाली चलचित्र निर्देशन यात्रा सुरु गरेका पौडेलले नयाँ चलचित्र 'कालुराम' निर्माणको तयारी गरेका छन् । चलचित्रको लागि पौडेलले स्क्रिप्ट तयार गरिसकेका छन् भने तिन वटा गीतको रेकर्डिङ पनि सकिसकिएको छ । उनका अनुसार चलचित्रका लागी केही कलाकार पनि फाइनल भइसकेका छन् केही कलाकारको खोजी भइरहेको निर्देशक पौडेलले जानकारी दिएका छन् । कमला ढकालले निर्माण गर्ने चलचित्र समसामयिक प्रेम कथामा बन्ने छ ।