कोरोना भाइरसका कारण गरिएको लक डाउनले सबैलाई घरमा नै सीमित गराइदिएको छ । घरमा बसिरहँदा कलाकारहरू अरु बेलामा देखिए भन्दा भिन्न अवतारमा प्रस्तुत भइरहेका छन् । कोही घरमा नयाँ परिकार पकाउन व्यस्त छन् भने कोही पढ्न लेख्न र फिल्म हेर्नमा व्यस्त छन् । यो त भयो अधिकांश कला कर्मीको दैनिकीको कुरा । तर ती नै कलाकार मध्य बलिउड अभिनेता नवाजुद्दीन सिद्दीकी अलि फरक काम गर्दै गरेको देखिएका छन् । सिद्दीकीको लकडाउनको समय खेतमा बितिरहेको छ । कोरोना महामारीले लकडाउन हुँदा उनी सडक मार्गबाट उत्तर प्रदेशस्थित बुढाना गाउँ पुगेका थिए । नवाजुद्दीनले इन्स्टाग्राममा भिडियो सार्वजनिक गर्दै आफू खेतमा काम गरिरहेको जानकारी दिएका छन् । खेतीपातीमा काम गर्ने पहिरनमा देखिएका उनी मकै बारीमा देखिएका छन् । भिडियोमा काम सकाएर कुलोका पानीमा हातखुट्टा धोई कोदालो बोकेर हिँडेको देखिएको छ । उनले भिडियो क्याप्सनमा लेखेका छन्, 'आजको काम सकियो' ।