कोरोना महामारी र लकडाउनका कारण लामो समय सुस्ताएको फिल्म इन्डस्ट्री बिस्तारै उठ्ने तरखरमा छ । सरकारले आधिकारिक अनुमति दिएसँगै रोकिएका छायाङ्कनका काम देखी नयाँ चलचित्रको काम धमाधम सुरु गर्ने तयारीमा निर्माता निर्देशक रहेका छन् । यसै बिच निर्देशक मिलन चाम्स आफ्नो नयाँ चलचित्रको तयारीमा छन् । उनी केही दिन यता चलचित्रको लागी लोकेसन हेरिरहेका छन् । उनले आफू नयाँ चलचित्रको तयारीमा रहेको बताउँदै, 'फिल्म कर्मीको खस्किएको मनोबल उकास्नका लागि लकडाउन खुले लगत्तै नयाँ फिल्मको छायाङ्कन सुरु गर्दै छु' भनेका छन् । कोरोनाले निर्देशक चाम्सको ड्रिम प्रोजेक्ट ‘गोर्खा वारियर’ को छायाङ्कन रोकेको छ । गत नयाँ वर्ष देखी उनी यस चलचित्रलाई लिएर फ्लोरमा जाने तयारीमा थिए ।
यो चलचित्र अर्को वर्षलाई पोस्टपोन्ड भए पछि चाम्सले नयाँ चलचित्र निर्माण लागेका हुन् । उनले नयाँ चलचित्रको लागी चितवन र दमौलीमा लोकेसन टुङ्गो लागेको पनि उल्लेख गरेका छन् । उनले आफ्नो नयाँ प्रोजेक्टमा नयाँ अनुहारलाई अवसर दिने बताएका छन् । उनका अनुसार चलचित्रका लागि केही कलाकार छनौट समेत भइसकेका छन् ।