चलचित्र ‘ए मेरो हजुर ४’ आगामी दसैँमा रिलिज हुने तयारीमा थियो । नायक अनमोल केसी र नायिका सुहाना थापाले दोस्रो पटक स्क्रिन सेयर गर्न लागेको चलचित्रको छायाङ्कन पनि सुरु भैसकेको थियो । चलचित्रको ३० प्रतिशत भन्दा बढी छायाङ्कन पनि सकिएको थियो । तर कोरोना भाइरसको कारण छायाङ्कन बिचमै रोक्नु परेको थियो । तीन महिना बढी भई सक्दा पनि कोरोना कहरले नछोड्दा चलचित्र अब कहिले बाट पुनः फ्लोरमा जाने हो अन्योलमा छ । झरना थापा निर्देशित चलचित्र यो वर्षको दसैँमा रिलिज गर्ने भनिएको थियो । तर अब आधा असार बितिसक्न लाग्दा पनि चलचित्रको काम सुचारु हुने लक्षण नदेखिँदा अब यस चलचित्र तोकिएको मितिमा रिलिज नहुने भएको छ । चलचित्रका निर्माता सुनिल कुमार थापाले लक डाउन खोलेर सरकारले सुटिङका लागि अनुमति दिएपछि काम सुरु गर्ने तयारीमा छन् । तर, दसैँसम्म हल सञ्चालनमा आउने नआउने निश्चित छैन । सञ्चालनमा आए पनि दर्शक हल सम्म पुग्ने वातावरण बन्न केही समय लाग्ने नै छ । यसै कारण चलचित्रको काम सकेर बस्ने तर रिलिजका लागि तत्काल निर्णय नलिने निर्माता सुनिलकुमार थापा बताउँछन् ।