लकडाउन सुरु हुनु भन्दा केही समय अघि मात्र विवाह गरेकी अभिनेत्री प्रियंका कार्की यति बेला घरमा नै बसिरहेकी छिन् । उनले प्रेमी अभिनेता आयुष्मान देशराज जोशीसँग लगनगाँठो कसेकी थिइन् । यति बेला आयुष्मान र प्रियंकाको नव विवाहित जोडी घरमा नै छन् । लकडाउनका कारण आफ्नो घर भैँसेपाटीमा उनीहरू बसिरहेका छन् । सामाजिक सञ्जालमा सक्रिय प्रियंकाले आफ्नो दैनिकीको केही हिस्सा आफ्नो सामाजिक सञ्जालमा सार्वजनिक गरिरहेकी हुन्छिन् । जसलाई हेर्दा यो जोडीले लकडाउनमा निकै खुसी र रमाइलो तरिकाले समय बिताइरहेको अनुमान गर्न सकिन्छ । बिहे लगत्तै लकडाउनका कारण घरमा नै बस्नु परेता पनि उनीहरू यो समय नयाँ परिकार पकाउन सिक्ने देखी आफ्नो समय एक अर्कालाई बुझ्न र साथ समय बिताउन प्रयोग गरेको बताउँछन् । आफ्नो शरीरको फिटनेसमा निकै ध्यान दिने यो जोडी लकडाउनले गर्दा जिममा त जान पाएको छैन नै तर आफै घरमा जिमको वातावरण सृजना गरिरहेका छन् भन्ने अनुमान गर्न सकिन्छ । प्रियंकाले आफ्नो इन्स्टाग्राममा एक तस्बिर पोस्ट गरेकी छिन् जसमा उनलाई आयुष्मानले ढाडमा बोकेका छन् । यस तस्बिरका बारेमा प्रियंका लेख्छिन्, 'जीम बन्द भए पनि समस्या छैन' । आयुष्मान र प्रियंका एक अर्कालाई जिम को अभाव हुन नदिन नयाँ उपाय अपनाइरहेको बुझ्न सकिन्छ ।