लकडाउनका कारण लामो समय देखी विदेशमा अड्किएका नेपालीलाई सरकारले फर्काइरहेको छ । कोरोना सङ्क्रमण भएका देशबाट नेपालीलाई ल्याइँदा उनीहरूबाट नै नेपालमा रहेका नेपालीलाई कोरोना सर्ने डर मान्दै उनीहरू प्रति वितृष्णा फैलिरहेको छ । उनीहरूलाई फर्काएर ल्याएपछि सरकारले उचित व्यवस्थापन र आइसोलेसनको व्यवस्था गर्न नसक्दा एक किसिमको त्रास बढेको हो । यसै बिच महानायक राजेश हमालले विदेशबाट आएका नेपाली नागरिकलाई स्वागत गर्न आह्वान गरेका छन् । युनिसेफको ‘हाम्रो नमस्ते’ अभियानमा सहभागी हुँदै हमालले कोरोना भाइरसको महामारीमा दिनहुँ घर फर्किरहेका नेपालीलाई नमस्तेसहित न्यानो स्वागत गर्न आह्वान गरेका हुन् । उनको यस अभिव्यक्ति सहितको सार्वजनिक भिडियोमा हमाल भन्छन्, 'अनिश्चितता र चुनौतीको यो समयमा देशका हजारौँ नागरिकहरू सुरक्षा तथा सहायताका खोजीमा आफ्नो घर फर्किरहेको भन्दै हमालले उनीहरू कसैको आमाबुवा, श्रीमान श्रीमती, छोराछोरी भएको भन्दै जे भए पनि पराया नभएको उल्लेख गरे । ‘तर जब आयो अनायास त्रास कोरोनाको, किन भए उनीहरू पराया झैँ एक छिनमै ? के यसैलाई भनिन्छ परिवार ? मानेकै हो हामीले प्रेम र स्नेहको हार ?' । यो ऐक्यबद्धताको लागि जुट्ने समय भएको भन्दै स्वदेश फर्किरहेका आप्रवासी कामदारहरूको पक्षमा एकजुट भई उनीहरूको हौसला बढाउन अनुरोध समेत गरेका छन् । युनिलिभरसँगको सहकार्यमा गरिएको यस अभियानबाट हमाल जनचेतनाको सन्देश प्रवाह गर्दै छन् ।