भारत र पाकिस्तानबिचको चिसो सम्बन्धले फिल्म जगत् र कलाकारितामा पनि निकै असर गरेको छ । भर्खरै भारतीय म्युजिक कम्पनी टि- सिरिजले पाकिस्तानी गायक आतिफ असलामको गीत युट्युबबाट  हटाएको छ । बुधवार असलामको आवाज रहेको गत वर्ष रिलिज भएको चलचित्र 'मर्जावा'को 'किन्ना सोना' बोलको गीत हटाउन लगाइएको हो । महाराष्ट्र नवनिर्माण सेना नामक महाराष्ट्र राज्यको राजनीतिक दलले आतिफ असलामको स्वर रहेको गीत युट्युबमा राखिएको भनि विरोध गरेको थियो । उक्त गीत गत शनिवार सार्वजनिक गरिएको थियो । त्यसको लगत्तै महाराष्ट्र नवनिर्माण सेनाका अध्यक्ष अमेया खोप्करले टि- सिरिजलाई पत्रमार्फत गीत हटाउन चेतावनी दिएको भारतीय मिडियाले उल्लेख गरेका छन् । टि- सिरिजले आतिफको स्वर रहेको गीत एक कर्मचारीले गल्तीले अपलोड गरेको पनि प्रष्टिकरण दिइसकेको छ । आफूहरूबाट गल्ती भएको भ नि उक्त कम्पनीले माफी समेत मागिसकेको छ । उक्त गीत पुनः रिलिज नगर्ने र पाकिस्तानी गायक गायिकाको गीत प्रचार आफूहरूको उद्देश्य नरहेको समेत टि- सिरिजले जनाइएको छ । गत वर्ष पुलवामामा भएको आतङ्कवादी हमलापछि महाराष्ट्र नवनिर्माण सेनाले सङ्गीत निर्माण कम्पनीहरूलाई पाकिस्तानी कलाकारसँग काम नगर्न निर्देशन दिएको थियो ।