गायक दीपक परियारको मृत्यु भएको छ । आत्महत्याको प्रयास गरेका उनको उपचारका क्रममा मृत्यु भएको छ । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान रुपन्देहीका सदस्य समेत रहेका दीपक रुपन्देहीको तिलोत्तमामा आफ्नै घरमा कोठाको सिलिङ फ्यानमा झुन्डिएको अवस्थामा भेटिएका थिए । घाइते अवस्थामा भेटिएपछि उपचारका लागि उनलाई युनिभर्सल मेडिकल कलेजमा लगिएको थियो । उपचारका क्रममा उनको मृत्यु भएको इलाका प्रहरी कार्यालय मङ्गलापुरका प्रमुख लक्ष्मण थापाले जानकारी दिएका छन् । उनी श्रीमतीका साथ दिदीको घरमा बस्दै आएका थिए । उनले बिहीबार मात्रै नयाँ गीत रेकर्ड गराएका थिए । उनले के कारण आत्महत्याको प्रयास गरेका थिए भन्ने अहिलेसम्म केही खुलेको छैन । दीपकको शव पोस्टमार्टमका लागि भैरहवाको भीम अस्पतालमा लगिएको र घटनाको विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।