गायन रियालिटी शो ‘दि भ्वोइस अफ नेपाल’ले पहिलो सिजनबाटै दर्शकको मन जित्यो । जसरी दर्शकको मन जित्यो उसै गरी विवादमा पनि तानियो । यस रियालिटी शोका पहिलो विजेता बने सिडी विजय अधिकारी । शोको दोस्रो सिजन सम्पन्न हुँदा सम्म पनि पहिलो सिजनका विजेताले पुरस्कार नपाएको कुराले विवाद चुलिएको थियो । यसैबिच लामो समयको पछि फेरी यो विवाद बल्झिएको छ । भर्खरै पहिलो सिजनका विजेता सिडी विजय अधिकारीले आफूले पुरस्कार स्वरूप पाउनु पर्ने रकम तीन दिन भित्रमा दिनका लागि आयोजकलाई अल्टिमेटम दिएका छन् । आफूले पुरस्कार स्वरूप पाउनु पर्ने रकम वर्षौँ सम्म प्रतीक्षा गर्दा पनि नपाएको भन्दै गायक अधिकारीले आफ्नो फेसबुकमा तीन दिन भित्र पुरस्कार रकम दिलाउन चेतावनी दिएका हुन् । उनले तोकेको समय भित्र आफूले उक्त रकम नपाए कानुनी प्रक्रियामा अगाडि बढ्ने चेतावनी समेत दिएका छन् । उनले चेतावनी सहितको स्ट्याटस पोस्ट गरेको केही घण्टामा नै डिलिट गरे । यसै विषयलाई लिएर निर्माता तथा प्रस्तोता सुशील नेपाल र अधिकारी बिच स्ट्याटसमा नै सवाल जवाफ चलेको थियो तर केही समय पछि दुवैले आफ्ना स्ट्याटस हटाए ।

सिडी विजयले स्ट्याटस राखेपछि आफूहरू घाटामा रहेकाले भनेको समयमा पुरस्कार राशि प्रदान गर्न नसकेको बताउँदै प्रस्तोता सुशील नेपालले २७ लाख रुपैयाँ दिएको दाबी सहितको लामो स्ट्याटस पोस्ट गरेका थिए । उनले आफूले घर जग्गा धितो राखेर ऋण लिएर शो निर्माण गरेको र घाटामा जाँदा आफू सबै तिरबाट लज्जित भएको भनी दुखेसो पोखेका थिए ।  तर सिडी विजले सुशीलले भने अनुसार रकम नपाएको र गाडीको सट्टा ट्याक्स कटाएर पाउनु पर्ने झन्डै साँढे १४ लाख रुपैयाँ पाउन बाँकी रहेको बताएका छन् । दि भ्वोइसले विजेतालाई एल्बम तथा भिडियो निकाली दिने भनेता पनि अहिलेसम्म त्यो काम नगरेको आरोप लगाएका छन् । सिडीले आफू निकै समस्यामा परेको र यतिका वर्ष समस्या बुझेर पर्खेको बताएका छन् । उनले आफूलाई परेको समस्या देखाउन अब मैले आत्महत्या गर्नु पर्ने हो ? भनी प्रश्न समेत गरेका छन् ।  

‘दि भ्वोइस अफ नेपाल’ले पुरस्कार नदिँदा सिडी विजय आक्रोशित