बलिउड अभिनेता सुशान्त सिंह राजपुतको मृत्यु भएको दुई साता बितिसक्दा पनि बलिउड शोकबाट उत्रन सकेको छैन । प्राय कला कर्मीले उनको मृत्यु निकै दुखद र असह्य भएको बताइरहेका छन् । सामाजिक सञ्जालमा उनी प्रति श्रद्धाञ्जली दिनेको सङ्ख्या अझै कम भएको छैन । यसै बिच बलिउडकी चर्चित अभिनेत्री भूमि पेडनेकरले सुशान्तको नाममा गरिबहरूलाई खाना खुवाउने भएकी छिन् । सुशान्तको सम्झनामा अभिनेत्री भूमिले 'एकसाथ' फाउन्डेसनमार्फत ५ सय ५० गरिब परिवारलाई खाना खुवाउने भएको हुन् । उनले सामाजिक सञ्जाल इन्स्टाग्राम मार्फत गरिब परिवारलाई खाना खुवाउन लागेको जानकारी गराएकी छिन् । आफूलाई प्रिय लाग्ने मान्छेलाई श्रद्धा सुमन व्यक्त गर्ने सबैको आ आफ्नो तरिका होला तर भूमिको यस प्रयासलाई सबैले प्रशंसा गरेका छन् । भूमि सुशान्त सिंहले 'सोनचिडिया'मा एकसाथ अभिनय गरेका थिए । व्यापारिक हिसाबले सफल नभए पनि चलचित्रले दर्शकको मन भने जितेको थियो ।