आलिया भट्ट अभिनीत चलचित्र ‘सडक २’ डिजिटल रिलिज हुने भएको छ । पछिल्ला केही दिन यता कोरोनाभाइरसका कारण रोकिएका बलिउडका चलचित्र सम्बन्धी कामहरू सुचारु हुन थालेका छन् । सङ्क्रमण रोकथामका लागि बन्द गरिएका चलचित्र घरहरू खुल्ने टुङ्गो नभए पनि निर्माणका काम सुरु हुने भएका छन् । फिल्म हल खुल्ने निश्चित नभएसँगै निर्माण भएर थन्किएका चलचित्र धमाधम डिजिटल रिलिज गरिने भएका छन् । यसै बिच महेश भट्टको निर्देशनमा बनेको फिल्म ‘सडक–२’ पनि डिजिटल प्लेटफर्ममार्फत प्रदर्शन गर्न लागिएको निर्माण पक्षले बताएको छ । फक्स स्टार स्टुडियोको प्रस्तुति रहेको चलचित्रमा आलिया भट्टका साथमा आदित्य रोय कपुर, सञ्जय दत्त, पूजा भट्ट लगायतको अभिनय रहेको छ । यस चलचित्र जुलाई १० मा सार्वजनिक हुने बताइएको थियो । यसबारे जानकारी दिँदै निर्माता रहेका मुकेश भट्टले कोरोना सङ्क्रमितको सङ्ख्या बढ्दो छ। यस्तो अवस्थामा सिनेमा घर खुल्ने कुरा भएन। मानिसलाई आफ्ना र आफूलाई जोगाउनु छ। त्यसैले फिल्मभन्दा महत्त्वपूर्ण जीवन हो । भनेका छन् । ‘सडक २’ सन् १९९१ मा प्रदर्शन भएको सडकको सिक्वेल हो जसमा पूजा भट्ट र सञ्जय दत्तको मुख्य अभिनय रहेको थियो । मुकेश भट्टले डिजिटल प्ल्याटफर्मलाई समस्याको क्षणिक समाधान भएको बताउँदै भनेका छन् , 'निर्माता र दर्शक दुवै सिनेमा घर रुचाउँछन् । कुनै उपाय नभएकाले डिजिटल प्लेटफर्म रोजेका हौँ' ।