केदार श्रेष्ठ निर्देशित नेपाली सर्ट फिल्म ‘जुनुको जुत्ता’ इटालीमा प्रदर्शन गरिने भएको छ । निर्देशक श्रेष्ठले इटालीको 'सर्ट्स इन्टरनेशनल फिल्म फेस्टिभल'का लागि छनौट भएको जानकारी दिएका छन् । यस चलचित्रले 'इन्टरनेशनल सर्ट फिल्म फेस्टिभल ओवरहोउसेन'को ६६ औँ संस्करणमा ‘चिल्ड्रेन एन्ड युथ कम्पिटिसन’ अन्तर्गत 'स्पेसियल मेन्सन अफ द चिल्ड्रेन्स जुरी' अवार्ड पाएको थियो ।  यस चलचित्रमा ५ वर्षीय हिस्सी लामा, याङ्जी लामा शेर्पा, पासाङ ल्हमू लामा, खड्क कुमारी लगायतको अभिनय रहेको छ । यो उल्टो जुत्ता लगाउने सानी नानीको कथा हो ।  सरुण मानन्धरले खिचेको फिल्ममा यशु श्रेष्ठको कथा र निर्देशक श्रेष्ठको पटकथा रहेको छ । विप्लपराज पोखरेलले सम्पादन गरेको ‘जुनुको जुत्ता’लाई ह्यापी ह्यूज प्रोडक्सन, थिएटर मल र थिएटर सेन्टर फर चिल्ड्रेन नेपालको संयुक्त निर्माण गरेको हो ।