अभिनेत्री साम्राज्ञी राज्य लक्ष्मी र अभिनेता तथा निर्माता भुवन केसीबिचको आरोप प्रत्यारोपले अर्कै मोड लिइरहेको छ । आफूलाई चलचित्रको सुटिङका क्रममा दुर्व्यवहार भएको भनि साम्राज्ञीले केही दिन अघि सामाजिक सञ्जालमा एक भिडियो सार्वजनिक गर्दै खुलाएकी थिइन् । त्यस यता भुवन र साम्राज्ञीको सामाजिक सञ्जालको द्वन्द्व रोकिएको छैन बरु अन्यत्र मोडिने हो कि भन्ने भएको छ । साम्राज्ञीले ब्याट टु ब्याक भिडियो सार्वजनिक गर्दै आफूलाई दुर्व्यवहार भएको र आफूले उही समयमा आवाज उठाउन नसकेको भन्दै भिडियो सार्वजनिक गरिरहेकी छिन् । यसरी आफूमाथि आरोप आइलागे पछि अभिनेता केसीले साम्राज्ञीलाई चेतावनी दिएका छन् । बिहीबार दिउँसो भुवनले फेसबुकमार्फत नै साम्राज्ञीलाई चेतावनी पत्र लेखेका छन् । जसमा उनी भन्छन्, 'आफूलाई ब्रेक दिने पिता तुल्य व्यक्तिको बारेमा अनर्गल तथा झुटा कुराहरू उल्लेख गरी तपाईँले मेरो बारेमा आफ्नो इन्स्टाग्राममा भिडियो बनाइ पोस्ट गर्नु भएको सामाग्रीहरूको सम्बन्धमा मेरो गम्भीर ध्यानाकर्षण भएको छ' । योसँगै उनलाई चेतावनी दिँदै भुवन लेख्छन्, 'चलचित्रको क्षेत्रमा रातो दिन कार्यरत रही मैले हासिल गरेको मान प्रतिष्ठामा आघात पुग्ने गरी पुन : त्यस्ता मानमर्दन हुने प्रकारका सामग्रीहरू इन्स्टाग्राम, फेसबुकमा या अन्य कुनै पनि सामाजिक सञ्जालमा पोस्ट नगर्न हुन सूचित गर्दछु । मेरो यो सूचनाको बाबजुद तपाईँले यस्ता झुटा लाञ्छना लगाउने कार्यहरू गरे गराएमा तपाईँ उपर प्रचलित साइबर कानुन र मानहानि सम्बन्धी कानुनको प्रयोग गरी मलाई पुग्न गएको मान सम्मानका हानी नोक्सानी उपर तपाईँबाट यथोचित क्षतिपूर्ति गराउने र तपाईँलाई कानुन बमोजिमको सजायको भागे दारी गराउनुको निमित्त आवश्यक कानुनी प्रक्रियाको थालनी गर्ने ब्यहोरा तपाईँलाई बढो दुखका साथ जानकारी गराउँदछु ।'
आजसम्म आफू यस किसिमको कुरामा नमुछिएको भनि बचाउ गर्दै आएका केसीले सार्वजनिक रूपमा नै चेतावनी दिएका हुन् । यसबारे यति बेलासम्म साम्रागीले केही बोलेकी छैनन् । हेरौँ केसीको चेतावनी पत्र जस्ताको तस्तै:
डियर साम्राज्ञी,
तपाईँलाई पहिलो पटक नायिकाकाको रूपमा सुपर काजल फिल्मको चलचित्र ड्रिम्सबाट चलचित्र क्षेत्रमा पदार्पण गर्ने मौका दिने व्यक्तिप्रति तपाईँ धन्यवादि हुनुहुन्छ भन्ने म अपेक्षा गर्दछु ।
करिब ६ वर्ष अगाडि निर्माण भएर प्रदर्शन समेत भई सुपर हिट भएको चलचित्र ड्रिम्सको शूटिङ को क्रममा पानी खान पाइन, छाता ओढ्न पाइन, सुविधा प्राप्त भएन भन्ने जस्ता झुटा कुराहरू उठाएर चलचित्र प्रदर्शन भएको लगभग तीन वर्ष पछाडि र आजभोलि मात्र म लगायत अरु निर्माताहरुलाई पनि गालीगलौज गरेको देख्दा आश्चर्य लागेको छ ।
आफूलाई ब्रेक दिने पिता तुल्य व्यक्तिको बारेमा अनर्गल तथा झुटा कुराहरू उल्लेख गरी तपाईँले मेरो बारेमा आफ्नो इन्स्टाग्राममा भिडियो बनाइ पोस्ट गर्नु भएको सामाग्रीहरूको सम्बन्धमा मेरो गम्भीर ध्यानाकर्षण भएको छ ।
अब उप्रान्त तपाईँले म भुवन केसीले विगत करिब चालिस वर्षदेखि नेपाली चलचित्रमा काम गरी विभिन्न सुपर हिट फिल्म निर्माण पनि गरी आजसम्म यही चलचित्रको क्षेत्रमा रातो दिन कार्यरत रही मैले हासिल गरेको मान प्रतिष्ठामा आघात पुग्ने गरी पुन : त्यस्ता मानमर्दन हुने प्रकारका सामग्रीहरू इन्स्टाग्राम, फेसबुकमा या अन्य कुनै पनि सामाजिक सञ्जालमा पोस्ट नगर्न हुन सूचित गर्दछु ।
मेरो यो सूचनाको बाबजुद तपाईँले यस्ता झुटा लाञ्छना लगाउने कार्यहरू गरे गराएमा तपाईँ उपर प्रचलित साइबर कानुन र मानहानि सम्बन्धी कानुनको प्रयोग गरी मलाई पुग्न गएको मान सम्मानका हानी नोक्सानी उपर तपाईँबाट यथोचित क्षतिपूर्ति गराउने र तपाईँलाई कानुन बमोजिमको सजायको भागे दारी गराउनुको निमित्त आवश्यक कानुनी प्रक्रियाको थालनी गर्ने ब्यहोरा तपाईँलाई बढो दुखका साथ जानकारी गराउँदछु ।
भवदीय भुवन केसी
सिनामंगल ,काठमाडौँ ,वडा न ९
मिति २०७७ साल असार १८ गते
शुभम !