चलचित्र ‘इन्टु मिन्टु लन्डनमा’ पाइरेसीको सिकार भएको छ । साम्राज्ञी राज्य लक्ष्मी शाह र धिरज मगर अभिनित चलचित्र गए राती फेसबुक र युट्युबमा सार्वजनिक भएको हो । रेनेशा राईको निर्देशन रहेको यस चलचित्र २०१८ को सेप्टेम्बरमा रिलिज भएको थियो । बक्स अफिसमा सफल मानिएको यस चलचित्र सार्वजनिक भएको बारे आफुलाई जानकारी नभएको र निर्माण पक्षले सार्वजनिक नगरेको निर्देशक राईले बताएकी छिन् । यसै चलचित्रबाट नायक धिरज मगरले नेपाली फिल्म इन्डस्ट्रीमा डेब्यु गरेका हुन् । कोरियोग्राफर रेनेशाले पनि यसै चलचित्रबाट निर्देशनमा डेब्यु गरेकी हुन् । उनको निर्देशनले राम्रो प्रतिक्रिया पाएको थियो । धिरज, साम्राज्ञीको साथमा सारुक ताम्राकार, विजय लामा, अर्जुन श्रेष्ठ, दिल भूषण पाठक, रुबि राना लगायतको अभिनय रहेको यस चलचित्रमा प्रभु शमशेर जबरा र प्रज्वल शमशेर जबराको लगानी रहेको छ ।