नायिका केकी अधिकारी र रीमा विश्वकर्माले निर्माण गरेको कमेडी रियालिटी शो 'कमेडी च्याम्पियन' को पहिलो सिजन केही समय अगाडी नै सम्पन्न भयो । कोरोना भाइरस र लकडाउनले शोको अर्को सिजनको बारेमा कुरा अगाडी बढ्न सकेको थिएन । लकडाउन केही खुकुलो भएसँगै नेपाली मनोरञ्जनको दुनियाँ केही चलमलाएको छ । यसै बिच नेपालको पहिलो कमेडी रियालिटी शो कमेडी रियालिटी शो ‘कमेडी च्याम्पियन’ ले कान्तिपुर टेलिभिजनसँग सहकार्य गरेको छ । निर्देशक विशाल भण्डारी तथा निर्मात्राद्वय केकी अधिकारी र रीमा विश्वकर्मा र कान्तिपुर टेलिभिजनका स्टेसन म्यानेजर दिनेश डिसीले सहकार्य को सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् । निर्माण पक्ष र कान्तिपुर टेलिभिजनको ५ वर्षका लागि कार्यक्रम निर्माण र प्रसारणको लागी सम्झौता भएको हो । थ्री प्रोडक्सन र कान्तिपुरको यो सहकार्य ‘कमेडी च्याम्पियन ‘ को छैटौँ सिजनसम्मको लागि रहेको स्टेसन म्यानेजर डिसीले बताएका छन् । केटिभिले कोरोना महामारीका बिच खर्चिलो र भव्य रियालिटी शो सञ्चालन गर्न लागेको हो । यसअघि कमेडी च्याम्पियनले कान्तिपुरको समय किनेर कार्यक्रम प्रसारण गर्दै आएको थियो ।