लामो समय कोरोनाको प्रभावले चलचित्र सम्बन्धी सम्पूर्ण काम रोकिँदा नेपाली फिल्म चपेटामा परेको छ । न रिलिजको तयारीमा रहेका चलचित्र प्रदर्शन हुन पाए न निर्माणको काम सुरु भएका चलचित्रले समयमा नै काम सक्न पाए । यसले निर्माता निर्देश देखी कलाकार प्राविधिक निकै समस्यामा परेका छन् । कोरोना प्रभावले चलचित्रहरूलाई आर्थिक घाटा भएपछि सरकारले निर्मातालाई राहत दिलाउनु पर्ने आवाज उठिरहेको छ । यसै बिच चलचित्र निर्माता सङ्घले कोरोनाका कारण प्रभावित भएको भन्दै ६४ नेपाली चलचित्रको सूची चलचित्र विकास बोर्डमा बुझाएको छ । चलचित्र क्षेत्र ठप्प हुँदा अप्ठेरोमा परेका चलचित्र र अन्य क्षेत्रको अनुसन्धान चलचित्र विकास बोर्डले गरिरहेको छ । समस्यामा परेका चलचित्रको बारेमा यथार्थ बाहिर ल्याउन बोर्डले तथ्याङ्क सङ्कलन गर्न लागेको हो । यसकै लागी निर्माता सङ्घले सूचना नै आह्वान गरी कोरोनाको मारमा परेका चलचित्रहरूको नाम सङ्कलन गरेका हुन् । तर निर्माता सङ्घले बुझाएको चलचित्रको सूचीमा छायाङ्कनमा जाने तयारीमा रहेका देखी विकास बोर्डमा नाम मात्र दर्ता गरेका चलचित्रको नाम पनि उल्लेख गरिएको छ । जुन निकै निकै असान्दर्भिक छ । नाम मात्र दर्ता गरिएका चलचित्र त सूचिमा राखियो नै साथमा कथा नै तयार नभएको र कलाकार समेत फाइनल नभएको, वर्षौँदेखि निर्माण भएर रिलिज नगरिएको चलचित्रलाई निर्माता सङ्घले समावेश गरेको छ ।
चलचित्र निर्माता सङ्घका अध्यक्ष आकाश अधिकारीसहितको टिमले तयार पारेको सुची यस्तो छ:
‘दि होल टाइमर, पारस, २ नम्बरी, म यस्तो गीत गाउँछु २, घन चक्कर, मनको बाँध, हिरो रिटर्न्स, माया बस्छ कि के हो, झिँगे दाउ, उल्झन, पोखराकी काली, प्रेम गीत ३, सिमानामा काँडे तार, मन्त्र, हली, सम्हालिन्छ कहिले मन, हिजो आजका कुरा, लक्का जवान, मन परेसी, लिम्बो, मेरो आफ्नो, आकाशे खेती, एक, डेसान, शिरफूल, उफ यो मन, के घर के डेरा, तीन जन्तु, षट्कोण, नालापानी, हेल्लो काशीराम, उफ यो मन, आरुषी, यो माया कस्तो माया, पानी फोटो, माइकल अधिकारी, कठपुतली, देवी, फेक फ्रेन्ड, कोपिला, परदेशी, सम्झना बिर्सना, सुस्केरा, तु, विच्छेद, गुञ्जन, चालबाज, हेलो जिन्दगी, इन्काउन्टर, नीरफूल, चिसो एस्ट्रे, रेखा थापाको अन टाइटल प्रोजेक्ट, बद्री बहादुर, वडाध्यक्ष, चपली हाइट ३, जारी, सेन्टी भाइरस, आमा, आई एम ट्वान्टी वान, लप्पन छप्पन २, निम्तो, ऐना झ्यालको पुतली, ए मेरो हजुर ४, गोर्खे, लै बरी लै र हृदयभरि'
यसरी निर्माता सङ्घले वास्तविक समस्यामा परेका चलचित्रको सुची निकाल्न नसक्दा पारदर्शिता माथि प्रश्न उठेको छ । बोर्डले राहतको प्याकेज नै घोषणा गरे पनि यथार्थ बुझेर र निष्पक्ष रूपमा अनुसन्धान गरेर आर्थिक मारमा परेका चलचित्र पहिचान गर्नु पर्ने देखिन्छ ।