लकडाउनको कारण छायाङ्कनको क्रममा नै रोकिनु परेका चलचित्रले पुन कहिलेबाट छायाङ्कन सुचारु गर्न पाउने हुन् त्यो टुङ्गो छैन । कोरोना सङ्क्रमण बढिरहँदा लकडाउन केही खुकुलो भए पनि चलचित्र छायाङ्कन लगायत काम सुरु हुने सम्भव देखिँदैन । यसले निर्माता कलाकार लगायतलाई धेरै असार गर्ने देखिन्छ । महामारी सामान्य हुन कति समय लाग्ने हो टुङ्गो नभए पछि केही चलचित्रले आफ्नो सेड्युल नै पछि सारेका छन् । यस्तैमा चलचित्र ‘२ नम्बरी’ निर्माण पक्षले फागुन अगाडि चलचित्रको काम सुरु नगर्ने निर्णय लिएको छ । करिब ३० प्रतिशत छायाङ्कन सकेको चलचित्रको काम रोकिएको ४ महिना बित्न लागिसकेको छ । चलचित्र छायाङ्कनको लागी उचित दृश्य फागुन अगाडि नपाइने भएपछि निर्माण पक्षले यो निर्णय लिएको हो । दीपेन्द्र लामाले निर्देशन रहने चलचित्रमा दयाहाङ राई, वर्षा राउत, पल शाह लगायतको अभिनय रहने छ । रेड वर्ड प्रोडक्शन र आरआर फिल्म प्रोडक्शनको ब्यानरमा रोहित कट्टेल र सरोज नेपाली निर्माता रहेको यो चलचित्रको प्रस्तुत कर्ता किरण नेपाली हुन् । यसै गरी रत्न श्रेष्ठ चलचित्रको कार्यकारी निर्माता रहेका छन् । ‘२ नम्बरी’को छायाङ्कनको काम लामो समयको लागी स्थगित भएपछि निर्माता किरण नेपाली नयाँ चलचित्रको लागी जुटिरहेका छन् ।