अभिनेता प्रदीप खड्का गायक अरुण थापाको बायोपिकमा काम गर्न लागेको चर्चा पछिल्ला केही दिन यता फिल्म वृत्तमा चलिरहेको छ । निर्देशक दिनेश राउतले यस चलचित्रको निर्देशन गर्ने भन्ने खबर पनि बाहिरिएको छ । निर्देशक राउत र अभिनेता खड्काको टिम अप हुने पक्का भए पनि निर्माण पक्षले चलचित्रको बारेमा भने आधिकारिक जानकारी बाहिर ल्याएको छैन । प्रोजेक्टको केही हप्तादेखि स्क्रिप्ट लेखनमा काम भइरहेको बताइएको छ । ‘ऋतुहरूमा तिमी हरियाली वसन्त हौ’ बोलका चर्चित गायक अरुण थापा मगरको जीवनीमा फिल्म बन्ने च र्चा चलिरहेका बेला दिनेश र प्रदीपको यो सहकार्य यसै चलचित्रको सङ्केत दिन्छ । ५० वर्ष अगाडिको पृष्ठभूमिमा छायाङ्कन गरिने भनिएको चलचित्रमा प्रदीपले गायक थापाको भूमिका निर्वाह गर्ने छन् । तर गायक थापाको जीवनीमा फिल्म निर्माण गर्ने र यसमा प्रदीप मुख्य भूमिकामा देखिने भन्ने खबर बाहिरिएसँगै कास्टिङको विषयलाई लिएर विवाद उत्पन्न भएको छ ।

यस विषयमा बोल्दै निर्देशक संजोग लाफा मगरले बुधवार फेसबुकमा एक स्ट्याटस लेखेका छन् । जसमा गायक अरुण थापाको बायोपिक बन्न लागेको कुराले खुसी तुल्याए पनि ‘मिस–कास्टिङ’ भएकोमा निर्माण टिमको ध्यान आकर्षण गराएका छन् । उनले कास्टिङ परिवर्तन नगरे फिल्म प्रदर्शनको समयमा वा अन्य समयमा हुने विरोधको सम्पूर्ण क्षति निर्माताले बेहोर्नु पर्ने भनी सचेत गराएका छन् । उनले अरुण थापा मगरको भूमिकामा प्रदीप खड्का रहने भनेपछि चलचित्रलाई सतही रूपमा हेरिएको रहेछ भन्ने महसुस गरेको उल्लेख गरेका छन् । उनले बायोपिकमा कलाकारको छनौट निकै महत्त्वपूर्ण रहने समेत बताएका छन् । उता निर्देशक राउतले आफूले गायक थापाको जीवनीमा चलचित्र बनाउन लागेको तर त्यसमा प्रदीप हुने भन्ने कुरा गलत रहेको स्पष्ट पारेका छन् । उनी भन्छन्, 'मैले अरुण थापाको जीवनीमा फिल्म बनाउँछु भनेर घोषणा गरेको छैन । प्रदीपसँग गर्ने भनिएको फिल्म अर्को पनि त हुनसक्छ' । उनले थापाको स्मृतिमा गठन भएको प्रतिष्ठानले उनको जीवनीमा चलचित्र बनाउन लागेको र बनाउने नै भएको खण्डमा सबै प्रक्रिया पूरा गरेर मात्र बनाउने उनको तर्क छ ।