डान्सिङ रियालिटी शो ‘डान्सिङ विथ दि स्टार्स नेपाल’ को प्रसारणको अन्तिम तयारी भइरहेको छ । लकडाउन अगाडि घोषणा भई महामारीका कारण सुटिङ सुरु हुन नपाएको यस शो हिमालय टेलिभिजनबाट प्रसारण हुने छ । यसबारे कार्यक्रमका निर्देशक लक्ष्मण पौडेलले, ‘हामीले सबै तयारी पहिले नै सकिसकेका थियौँ, लकडाउन सुरु भएपछि सुटिङ रोक्नुपरेको थियो’ भनेका छन् । उनले सरकारले तय गरेको गाइडलाइन फलो गर्दै सुटिङको तयारीमा जुटेको पनि बताएका छन् । २६ शृङ्खलाको यो कार्यक्रममा १२ जना स्टार कलाकारले एक-एक जना प्रोफेसनल डान्सरसँग जोडी बाँधेर नृत्य प्रतिस्पर्धामा भाग लिनेछन् । हरेक साता हुने भोटिङबाट एक जना बाहिरिँदै जान्छन् ।

‘लकडाउनका बेला पनि सुटिङ गर्न सकिने गरी बिबिसीले नयाँ गाइडलाइन बनाएको र लकडाउनकै बिचमा २७ वटा मुलुकमा ‘डान्सिङ विथ दि स्टार’ सुटिङ र प्रसारण भइसकेकोले आफूहरूले पनि त्यसैलाई पछ्याएको हिमालय टेलिभिजनका कार्यकारी निर्देशक श्याम कँडेलले बताएका छन् । लकडाउनका बेला घरमै थुनिन बाध्य नेपाली दर्शकका लागि मनोरञ्जनको पूर्ण प्याकेजका रूपमा यो रियालिटी सो ल्याउन लागिएको हिमालय टेलिभिजनले जनाएको छ । ‘डान्सिङ विथ दि स्टार्स’ प्रसारण सुरु भएसँगै ‘भ्वाइस अफ नेपाल सिजन ३’ को डिजिटल अडिसनसमेत सुरु हुने कार्यक्रमका निर्देशक लक्ष्मण पौडेलले जानकारी दिएका छन् ।