हाँस्य कलाकार सन्दीप क्षेत्रीविरुद्ध प्रहरीमा उजुरी परेको छ । मधेसी महिलाको स्वाभिमानमा चोट पुर्‍याएको भन्दै कान्तिपुर टेलिभिजनका प्रस्तोता तथा कलाकार छेत्रीविरुद्ध उजुरी परेको हो। वीरगन्जका युवा ओमप्रकाश सराफले दुई साताअघि कान्तिपुर टेलिभिजनबाट प्रसारित ‘ह्वाट द फ्लप’ कार्यक्रममा मधेसीको मान तथा स्वाभिमानमा आँच पुर्‍याउने गरी कार्यक्रम उत्पादन गरेको भनी त्यसको विरुद्ध उजुरी दिएको बताइएको छ । सराफले दिएको उजुरी हुलाकमार्फत पठाइएको हो । मङ्गलवार उजुरीको लागि जिल्ला प्रहरी कार्यालयमा पुग्दा दर्ता गर्न नमानेकोले कानुनविद्हरूको सल्लाहमा हुलाकमार्फत उजुरी पठाइएको उनले जनाएका छन् भने अब पनि प्रहरीले कारबाही नगरे क्षेत्री र कान्तिपुर टेलिभिजनविरुद्ध सडक सङ्घर्ष समेत गरिने वीरगन्जका युवाहरूले चेतावनी दिएका छन् । कमेडी कार्यक्रम ‘ह्वाट द फ्लप’ सो मार्फत उनले भारतीय महिलाले नेपाली पुरुषसँग विवाह गरी ७ वर्षपछि नागरिकता व्यवस्था लागु हुँदा तराई मधेसमा भइरहेको विरोध प्रदर्शनबारे प्रस्तुत गरेका थिए ।

आफु विरुद्ध उजुरी परेपछि  क्षेत्रीले मधेशी समुदायसँग माफी मागेका छन् । उनले बिहीवार ‘ह्वाट द फ्लप’ कार्यक्रममार्फत् नै मधेशी समुदायसँग माफी मागेका हुन् । उनले कार्यक्रममा माफी माग्दै,  ‘मैले पछिल्लो समयमा निर्माण गरेको एक चरित्रबाट एक समुदाय दुःखी भएको खबर थाहा पाएँ । यसबाट म पनि मर्माहत भएको छु । मलाई माया गर्ने मान्छेको मन दुखेको खबर थाहा पाएपछि मेरो मन दुःख्नु स्वभाविक हो । हुन त मेरो उद्देश्य त्यो कदाचित होइन, त्यही पनि यदि मबाट तपाईंहरुको मन दुखेको छ भने म माफी माग्न चाहन्छु ’  भनेका छन् ।