कोरोना महामारी बढ्न नदिन जारी गरिएको लकडाउन बिस्तारै खुकुलो भएको छ । सामान्य पसल देखी कलकारखाना र बिहीबारबाट त जिल्ला जिल्ला भित्र सार्वजनिक सवारी साधन पनि सञ्चालनमा आउने भएका छन् । जनजीवन सामान्य तर्फ उन्मुख भइरहँदा सरकारले हल खोल्ने र चलचित्र छायाङ्कन गर्ने कुर्ने निर्देशिका तयार गरेको छैन । अन्य क्षेत्रका दबाबले सावधानी अपनाएर सञ्चालनमा ल्याउने अनुमति दिए पनि चलचित्र हलहरू कहिलेदेखि खुल्छन् र कहिलेबाट चलचित्रको निर्माणको काम सुरु हुन्छ भन्ने कुनै सङ्केत आएको छैन । अन्य क्षेत्र सामान्य रूपले सञ्चालनमा आए पनि चलचित्र क्षेत्रलाई बेवास्ता गरिँदा चलचित्र कर्मीले अरु कुनै ठाउँमा भिडभाड गर्दा कोरोना नसर्ने र हलमा दर्शक आउँदा मात्र सर्ने हो भनेर प्रश्न गर्न थालेका छन् । यसै बिच चलचित्र निर्माता प्रदीप कुमार उदयले सामाजिक सञ्जाल फेसबुकमा एउटा स्ट्याटस लेख्दै सिनेमा हलहरू सञ्चालन नभएकोमा असन्तुष्टि व्यक्त गरेका छन् । निर्माता सङ्घका पूर्व अध्यक्ष समेत रहेका उदयले 'व्यवसायीहरूको दबाबले पसल खुले, दबाबकै कारण बैङ्क, यातायात खुले । नेपालको सरकार दबाबले मात्र काम गर्छ । बजारमा हुलकाहुल मानिसहरूको गतिविधिले कोरोना नसर्ने, कार्यालय हलुको भीडले कोरोना नसर्ने तर चलचित्र भवनमा चलचित्र हेर्न जाँदा मात्र कोरोना सर्ने हो कि ?' भन्ने प्रश्न गरेका छन् ।

उनले, कोरोनाबाट अति प्रभावित क्षेत्रहरूमा चलचित्र क्षेत्र परे पनि सरकारले यसलाई महत्त्व नदिएको भन्दै हलमा ५० प्रतिशत मात्र दर्शक राखेर चलचित्र रिलिज गर्न सकिने पनि बताएका छन् । उनले, चलचित्र क्षेत्रको भविष्य के हो भनेर गम्भीर हुन चलचित्र कर्मीलाई आग्रह पनि गरेका छन् । हामी चलचित्र कर्मी र समग्र चलचित्र क्षेत्र कहिले एकताबद्ध हुन सकेनौ र गम्भीर पनि हुन सकेनौ ।झन् कोरोना सङ्कटको यो महामारीमा चलचित्र क्षेत्रमा हामी चलचित्र कर्मी(?)ले नै ल्याएको अनावश्यक विवाद र हल्काफुल्का टिप्पणीले हामी समाजमा झन् हल्का हुन पुग्यौ र विवादमा समाजले गरेको टिप्पणीहरूले यो पुष्टि हुन्छ ।त्यसैले मेरो आग्रह छ पहिला हामी स्थापित होऊ अनि विवाद गर्दै गरौला ।अहिलेको अवस्था भनेको हामी र हाम्रो क्षेत्र तहसनहस भएको अवस्था हो । हामी चलचित्र कर्मीहरूले एक पटक गम्भीर भएर सोचौँ अव हाम्रो क्षेत्रको भविष्य के ? यो बारेमा गम्भीर बहस र छलफल चलाऔँ ।एकताबद्ध होऔँ । सरकारको चलचित्र क्षेत्रलाई उकास्ने भनिएको तर कछुवा चालप्रति आपत्ति जनाऔँ दबाब दिऊँ र चलचित्र क्षेत्रलाई छिटो भन्दा छिटो चलायमान बनाउन प्रयास गरौँ । फेरी पनि भन्न मन लाग्छ सम्पूर्ण भिडभाडवाला गतिविधि सुचारु हुँदा चलचित्र क्षेत्रलाई सुचारु किन नगर्ने ?