लोकप्रिय गायक प्रकाश सपुतको आवाजमा नयाँ गीत सार्वजनिक भएको छ । ‘नमस्कार’ बोलको गीत बिहीबार युट्युबमा सार्वजनिक गरिएको हो । गीतमा गायक प्रकाशकै शब्द तथा सङ्गीत रहेको छ । कोरोनापछि मानिसले भोगिरहेको अवस्था र सबै मानिस बराबर हुन भन्ने सन्देश बोकेको गीत को सार्वजनिक भिडियोमा प्रकाशको साथमा विराज थापा, किरण मगर फिचर्ड छन् । लक डाउनको कारण दर्शकमाझ जान नपाएर छटपटिएको एक गायकले आफ्नै वरिपरि देखेको खुसीलाई भिडियोमा चित्रित गरिएको छ । गीतले एउटा सानो कथा नै बोकेको छ जसले खुसी भनेको सानो कुरामा पनि पाइन्छ भन्ने भाव प्रस्तुत गरेको छ। भिडियोलाई देवेन्द्र बब्लुले निर्देशन गरेका हुन् । अनिल के मानन्धरको छायाङ्कन रहेको गीत को भिडियोलाई प्रवीण भट्टले सम्पादन गरेका हुन् । गीत प्रकाश सपुतको युट्युब च्यानलमा हेर्न सकिन्छ ।