गायक आशिष सचिन गौतमको नयाँ गीत सार्वजनिक भएको छ । ‘पिरिम नलाउने, एक कान दुई कान मैदान’ जस्ता सफल गीतका गायक आशिषले 'गलबन्दी पछ्यौरी' बोलको गीत ल्याएका हुन् । गीतमा आशिषलाई मेलिना राईले स्वरमा साथ दिएकी छिन् । 'पिरिम नलाउने' टिम कै सहकार्यमा बनेको यस गीत बिहीबार युट्युबमा सार्वजनिक गरिएको हो । सार्वजनिक गीतको भिडियोमा गायक सचिन गौतम, वर्षा राउत, रेश्मा घिमिरे तथा बाल कलाकार आर्बिएन खड्का र आर्शिना भट्टराईको अभिनय रहेको छ । आशिष सचिन इन्टरटेन्टमेन्ट र ओएसआर डिजिटलको प्रस्तुतिमा बनेको यस गीतको भिडियो निर्देशन सुब्रत राज आचार्यले गरेका हुन् । यसमा कोरियोग्राफी गम्भीर बिष्टको रहेको छ । गीतमा दीपक शर्माको शब्द तथा सङ्गीत संयोजन नरेन्द्र वियोगीको रहेको छ । गीतको भिडियो नवीन निरौलाले सम्पादन गरेका हुन भने अर्जुन तिवारीले खिचेका हुन् ।