पछिल्ला केही समय यता नेपाली फिल्म इन्डस्ट्रीमा विविध विषयमा विवाद भइरहेको छ । यही विवादको सिलसिलामा केही दिन यता अभिनेत्री निर्देशक दीपा श्री निरौला पनि मुछिएकी छिन् । निरौलाले ‘महानायक’बारे दिएको अभिव्यक्तिले सामाजिक सञ्जालमा एक किसिमको लहर उठेको छ । जसले उनको व्यक्तिगत जीवनमा निकै ठुलो उतारचढाव आएको छ । आफूले बोल्ने क्रममा गल्ती भएको भनी माफी मागिसक्दा पनि निरौलालाई व्यक्तिगत रुपमा गाली गर्ने र ट्रोल बनाउने क्रम रोकिएको छैन । यसले उनलाई निकै ठुलो मानसिक आघात पुर्‍याएको छ । आफूले बोल्ने क्रममा भुला भएको स्वीकार गरिसक्दा पनि उनी माथि नैतिकता र उनले नेपाली फिल्म इन्डस्ट्रीमा दिएको योगदान बिर्सेर अनेक लाञ्छना लगाइरहनु वास्तवमा नै अन्याय हो । सामाजिक सञ्जालमा दीपालाई लिएर मजाक भइरहँदा कलाकार लगायत फिल्म कर्मीले यती धेरै घृणा उत्पन्न गराउनु निकै अशोभनीय रहेको बताउँदै आएका छन् । साथमा आफ्नै शुभचिन्तक र दर्शकले यसरी घृणा र प्रश्न उठाउँदा दीपालाई मानसिक आघात परेको कुरा फिल्म कर्मीले बताइरहेका छन् । यसै बिच आफ्नो अभिव्यक्तिमा स्पष्ट र निष्पक्ष बहस गर्ने अभिनेत्री केकी अधिकारीले हामी बिच भइरहेको द्वेष र घृणाको बारेमा बोलेकी छिन् । उनले आफ्नो सामाजिक सञ्जालमा लामो स्ट्याटस पोस्ट गर्दै व्यक्तिगत धारणा राखेकी छिन् । उनले घुमाउरो र व्यङ्ग्यात्मक शैलीमा सबैभन्दा ठुलो गल्ती महिला हुनुमा भएको बताएकी छिन् ।

उनी लेख्छिन्, ' गल्ती त हाम्रै हो नि दीपा दी,पहिलो गल्ती त तपाईँ छोरी भएर जन्मिनु भो । ल त्यस्मा हाम्रो केही चल्दैन, अनि फेरि तपाईँ सफल चाहिँ किन हुनुभो? ल त्यो पनि पचाउने प्रयास गरुँला, अनि फेरि तपाईँले भयङ्कर गर्नुभो के, होइन आफ्नो भनाइ अनि बिचार किन राखेको भन्या के ? अनि फेरि तपाईँले कसैको चित्त नदुखाउन माफी मागेर अति गर्नुभो । यो त पराकाष्ठा नै भैगो नि।' उनले विगत केही हप्ता यता आफ्नी आमा त्यसै त्रसित भइरहेको र हर समय फेसबुकमा नै घोत्लिने बताउँदै आमालाई 'नसा लाग्यो कि क्या हो आमा भनेर सोधेको, होइन तिमीले केही लेखेको छौ कि भनेर हेरिराको भन्नुभो । अहिले चर्किरहेका विषयमा केही भन्ने वा लेख्ने नगर है भन्नुभो । सहनै गाह्रो हुने प्रतिक्रियाहरू आउँछन् अनि मेरो मन भतभत पोल्छ भन्नुभो' लेखेकी छिन् । उनले मान्छेबाटै गल्ती हुने र गल्ती स्वीकार गरेर माफी माग्दा पनि माफी नदिने कस्तो संस्कार भनी प्रश्न उठाएकी छिन् । उनले यती भन्दै यती लेख्दा पक्कै आफू विवादमा नआउने र आफ्नो चरित्र पनि जोगिन्छ होला भनेकी छिन् । 

हेरौँ के लेखेकी छिन् उनले : 
विगत केही हप्ता यता आमा त्यसै त्यसै त्रसित हुनुहुन्छ। फेसबुकमा खासै सक्रिय हुनुहुन्न आमा तर आजकल हर दिन हर घण्टा आमाको आँखा अनि ध्यान फेसबुक मै हुन्छ। नसा लाग्यो कि क्या हो आमा भनेर सोधेको, होइन तिमीले केही लेखेको छौ कि भनेर हेरिराको भन्नुभो। अहिले चर्किरहेका विषयमा केही भन्ने वा लेख्ने नगर है भन्नुभो। सहनै गाह्रो हुने प्रतिक्रियाहरू आउँछन् अनि मेरो मन भतभत पोल्छ भन्नुभो।
म एक छिन घोत्लिए अनि सोचेँ, गल्ती त हाम्रै हो नि दीपा दी,पहिलो गल्ती त तपाईँ छोरी भएर जन्मिनु भो। ल त्यसमा हाम्रो केही चल्दैन, अनि फेरि तपाईँ सफल चाहिँ किन हुनुभो? ल त्यो पनि पचाउने प्रयास गरुँला , अनि फेरि तपाईँले भयङ्कर गर्नुभो के , होइन आफ्नो भनाइ अनि बिचार किन राखेको भन्या के ? अनि फेरि तपाईँले कसैको चित्त नदुखाउन माफी मागेर अति गर्नुभो। यो त पराकाष्ठा नै भैगो नि।
गल्ती मान्छेबाट पो हुन्छ त, माफी मान्छेलाई पो दिइन्छ त। अनि थाहा पाइपाइ यत्रो अपराध गरिदिने? हामीलाई त्यस्तो अनुमति छ र? यहाँ कुनै दीपा, पूजा , वर्षालाई गल्ती गर्ने छुट छैन है। भन्देको छु नि। मान्छे बन्ने कोसिस नगर्नु।
ल आमा तपाईँले यो पनि हेरिहाल्नु हुन्छ, त्यसैले ढुक्क हुनु है। मैले त्यस्तो केही लेखेको छैन। हाम्रो समाजकै समर्थनमा लेखेकी छु। मैले मरणासन्न हुने गरी गाली खान्न होला। मेरो चरित्र जोगिन्छ होला।