चर्चित रेडियो कर्मी तथा लोक गायक स्व. वासुदेव कोइराला 'मुनाल'को ७१ औँ जन्म जयन्तीको अवसरमा बालबालिकालाई खाद्यान्न सहयोग गरिएको छ । मुनालको स्मृतिमा गठित 'वासुदेव कोइराला मुनाल स्मृति फाउन्डेसन'ले काठमाडौँ र ललितपुर आश्रममा रहेका ३७ जना बालबालिकालाई एक महिना पुग्ने खाद्यान्न वितरण गरिएको हो । यसबारे बताउँदै स्व. मुनालका छोरा मोहित मुनालले काठमाण्डौको कीर्तिपुरस्थित 'बेबी लाइफ होम'मा रहेका २७ जना र ललितपुरको कुसुन्तीस्थित 'नेपाल स्नेही काख'का बालबालिकालाई सहयोग प्रदान गरिएको बताएका छन् । बेबी लाइफ होममा २७ जना एचआइभी पोजेटिभ रहेका छन् । 'नेपाल स्नेही काख'मा १० जना बालबालिका रहेका छन् भने ६५ जना मनोरोगीहरू रहेका छन् । यस संस्थाले सडकमा अलपत्र मनोरोगीहरू र तीनका बच्चाहरू साथै बेवारिसे बालबालिकालाई उद्धार गरेर संरक्षण गरिरहेको छ । स्वर्गीय मुनालका छोरा मोहित मुनालले पिताको अधुरा रहेका इच्छा वासुदेव कोइराला मुनाल स्मृति फाउन्डेसनबाट पूरा गर्ने बताएका छन् ।

यसबारे बताउँदै उनले भने, ’बुबाले धेरै सपनाहरू देख्नु भएको थियो । बुवाको सपना मध्यको एक बालबालिकाको सेवा पनि हो । अहिलेको कठिन समयमा जे जति सक्यौँ त्यति नै गरेका छौँ । आउने पुस्ताले वासुदेव कोइराला ’मुनाल’ सम्झन हामीले अरु कार्यक्रमहरू पनि गर्नेछौँ ।’ वरिष्ठ रेडियो कार्यक्रम सञ्चालक तथा लोकप्रिय गायक वासुदेव मुनालको २०७४ असोज १४ गते निधन भएको थियो । उदयपुरको चौदण्डीगढीमा २००६ सालमा जन्मिएका उनी मष्तिक घात र घाँटीको क्यान्सरबाट पीडित थिए । नौं वर्षसम्म मष्तिकघातले थलिएका उनको निधन क्यान्सरका कारण भएको थियो । जीवनका तीन दशक बढी समय रेडियो नेपालको एउटै बाल कार्यक्रम सञ्चालन गरेका मुनालले 'झम झम इस्टकोट', 'लालुपाते फुलेर लाल भयो', 'पानी खाने निहुँले तिम्रो घरमा आउँला', 'बाँसुरीको धुनमा मादलुको तालमा' जस्ता दर्जनौँ लोक गीतहरू गएका छन् भने , सय भन्दा बढी बाल गीतहरू, दर्जनौँ बाल साहित्य कृतिहरू प्रकाशित छन् ।