पछिल्लो समयमा नायिकाहरू एक पछि अर्को गर्दै विवादित भइरहेका छन् । लकडाउनको समयमा घरमा बसिरहेका नायिकाहरू कहिले कुन विषयले गर्दा आलोचित भएका छन् त कहिले कुन । पछिल्ला केही महिना यता यसरी अभिनेत्रीहरू आलोचित भइरहँदा फिल्म इन्डस्ट्रीमा एक किसिमको तरङ्ग फैलिएको छ । यस विषयमा केही कलाकार बोलिरहेका छन् भने केही यस विषयमा पस्न नै चाहेका छैनन् । अरु समयमा पनि पुरुष कलाकार भन्दा महिला कलाकारलाई केही हदमा बढी नै आलोचना गरिने गरिन्छ । उनीहरूले बाँच्ने शैली, व्यक्तिगत सम्बन्ध वा भनूँ उनीहरूले बोलेका कुरालाई नै लिएर सामाजिक सञ्जालमा उनीहरूको भद्दा आलोचना गरिन्छ र उनीहरूको व्यक्तिगत विषयलाई बिचमा ल्याइन्छ । जुन पुरुष कलाकारको हकमा निकै कम हुने गर्छ । हुन त एउटा सेलिब्रेटी भएपछि यस किसिमले सम्भावित आलोचनाको लागी पहिल्यै देखी तयार हुनुपर्छ । सामाजिक सञ्जाल र बजारमा चल्ने हल्ला र आलोचनालाई बेवास्ता गर्नु नै सबैभन्दा ठुलो उपाय हो । यसबारे बोल्दै कला कर्मीहरूले आफ्नो धारणा राखिरहेका छन् । यसैबारे सञ्चारकर्मी हरूसँग बोल्दै अभिनेत्री खड्काले पछिल्लो समय निकै तनावपूर्ण भएको बताएकी छिन् ।
उनले समाजलाई जोड्न निर्माण भएको सामाजिक सञ्जालले समाजलाई नै तोडिरहेको बताएकी छिन् । यति बेला सामाजिक सञ्जाल नशा भएको र यसले मानिसको व्यक्तिगत जीवनमा असार गरिरहेको भनेकी छिन् । पछिल्लो समय महिला कलकारहरू विवाद आइरहँदा आफूलाई समेत प्रभाव परेको र परिवार तनावमा रहेको बताएकी छिन् । उनले आफ्नो कामको बारेमा कहिल्यै केहि नभन्ने आमाले आफुलाई केहि नबोल्नु भनेको र यसले स्थिति कति जटिल बनेको छ स्पस्ट हुने उनले सुनाएकी छिन् । उनी सुनाउँछिन्, एउटा कलाकार यसरी विवादित हुँदा र उसलाई व्यक्तिगत रुपमा आलोचना गरिँदा उसलाई भन्दा उसको परिवारलाई गाह्रो हुन्छ' । एउटा कलाकार त यी सबै कुराको लागी केही हदसम्म तयार हुने र हुनुपर्ने उनको भनाइ छ । 'एउटै कुरा पलले बोल्दा जति प्रतिक्रिया आउँछ मैले बोल्दा १०० गुणा बढी प्रतिक्रिया आउँछ । यो पाँच वर्ष देखि नै चली आएको चलन हो । जुन अहिले आएर सबैलाई नोटिस भएको हो', उनी भन्छिन् । सबै मान्छेको आफ्नै कथा हुने र भोगाइ हुने र यस बारे कुराहरू बाहिर आउनु सामान्य हो तर सबैभन्दा ठुलो कुरा आफूले आफ्नो विचार वा आफ्ना कुराहरू बाहिर ल्याउँदा विवादमा पर्न सकिन्छ वा नराम्रो प्रतिक्रिया पनि आउन सक्छ भनेर तयार हुनुपर्छ र सहीलाई सही र गलत र गलत भन्ने हिम्मत पनि हुनुपर्छ, उनी सुनिइन् ।