दीपा श्री विरुद्ध सामाजिक सञ्जालमा एउटा लहर फैलिएको छ । 'महानायक' विवादमा मुछिएकी उनी यति बेला अपमान र आलोचनाको सिकार भइरहेकी छिन् । आफूले गल्ती गरेको स्वीकार गरिसक्दा पनि दर्शक तथा सामाजिक सञ्जाल प्रयोग कर्ता उनी विरुद्ध खनिन नछोडेपछि हास्य कलाकार केदारप्रसाद घिमिरेले आफ्नो धारणा राखेका छन् । उनले दीपा माथि तल्लो स्तरका गाली गलौच भइरहेको र गल्ती थियो र स्वीकार गरी माफी पनि मागी सकेपछि यसरी निरन्तर उनलाई गाली नगरी सच्चिएर अगाडी बढ्ने दिनको लागी दर्शकसँग अनुरोध गरेका छन् । उनले अभिनेता राजेश हमालसँग व्यक्तिगत रुपमा पनि माफी मागेका छन् । कुन गल्तीको सजाय कति भन्ने पनि त होला नि । छिमेकीको बच्चाले साग कुल्च्यो भनेर खुट्टा नै भाँचेर पठाइदिने त ?’ उनी भन्छन् । 'दीपा दिदीको पेटमा पाप छैन तर जिब्रो चिप्लेको चांहि पक्कै हो । अघिपछि राजेश दादाको बारेमा सकारात्मक कुरा गर्ने मान्छे,त्यो दिन दिदीको ठुलै दशा रैछ । वहाँ मनको दयालु हुनुहुन्छ, बर्सेनि १५ जना गरिब बच्चाहरूको स्कुल फी तिरी दिनुहुन्छ,कोही कलाकार प्राविधिकको दुखमा पुगिहाल्नुहुन्छ, भलै बैगुन पनि होलान् ।' उनले आफ्नो सामाजिक सञ्जाल मा लेखेका छन् । नकारात्मक प्रतिक्रिया को प्रसङ्ग निकाल्दै उनले चलचित्र ‘छ माया छपक्कै’को ट्रेलर रिलिज भएपछि सुरुमै १२ सय प्रतिक्रिया नकारात्मक आउँदा आफू झन्डै दोस्रो पटक डिप्रेसनमा गएको पनि उल्लेख गरेका छन् । उनले सबैलाई आलोचना नै गर्नु परे पनि सभ्य तरिकाले गरिदिनुहोला भनी अनुरोध गरेका छन् । सामाजिक सञ्जाल मा असभ्य र असह्य प्रतिक्रिया आइरहेपछि एक पछि अर्को गर्दै कलाकर्मी ले दर्शकलाई यो सब बन्द गर्न र एउटा कलाकारलाई र एउटा महिलालाई दिइनु पर्ने सम्मान दिन सबैलाई अनुरोध गरिरहेका छन् ।
हेरौँ के लेखेका छन् केदार घिमिरे (माग्ने बुढा)ले:
आदरणीय दर्शकलाई मेरो अनुरोध: विगत केही दिन देखि निरन्तर रुपमा निर्देशक/ कलाकार दीपा दिदी माथि तल्लो स्तरका गाली गलौज् भइरहेका छन्। हो, दिदीको गल्ती थियो,माफी पनि मागी सक्नुभयो। म पनि महानायक राजेश दादासँग व्यक्तिगत रुपमा माफी माग्दछु। कुन गल्तीको सजाय कति भन्ने पनि त होला नि। छिमेकीको बच्चाले साग बारी कुल्चेछ, खुट्टा भाँचेर पठाइदिने त ? दीपा दिदीको पेटमा पाप छैन तर जिब्रो चिप्लेको चांहि पक्कै हो। अघिपछि राजेश दादाको बारेमा सकारात्मक कुरा गर्ने मान्छे,त्यो दिन दिदीको ठुलै दशा रैछ। वहाँ मनको दयालु हुनुहुन्छ, बर्सेनि 15 जना गरिब बच्चाहरूको स्कुल फी तिरी दिनुहुन्छ,कोही कलाकार प्राविधिकको दुखमा पुगिहाल्नुहुन्छ, भलै बैगुन पनि होलान् । गल्ती मान्छेबाटै हुने हो, सच्चिएर अगाडी बढ्ने मौका दिनुहोस् । अर्को कुरा, केही गल्ती नहुँदा पनि "छ माया छपक्कै" को ट्रेलर रिलिज हुँदा सुरुमै करिब 1200 नेगेटिभ कमेन्ट आए, "यिनीहरूको फिल्म फ्लप भइहालोस्" "जोकरहरूको फिल्म कसले हेर्छ र ? आदी इत्यादि। (यही कारणले म झन्डै दोस्रो पटक डिप्रेसनमा गएको थिएँ) वर्ष भरि मेहनत गरेर बनाएको फिल्म फ्लप हुँदा कुन तत्त्व लाई फाइदा पुग्दोरैछ ? मैले अहिले सम्म बुझ्न सकेको छैन । त्यो तत्त्व ( जो फेक आइडी सहित कमेन्टमा हाजिर हुन्छ) सँग सम्बन्धित व्यक्ति लाई त मेरो भन्नु केही छैन । तपाई जो साँच्चै भगवान् जस्ता दर्शक हुनुहुन्छ, कृपया आलोचना नै गर्नु परे पनि सभ्य तरिकाले गरिदिनुहोला भनी अनुरोध गर्दछु । "छक्कापञ्जा टिमबाट माग्ने निकालौँ" भन्ने कुरा पनि आएको रैछ, हाम्रो टिममा सबै लेखक निर्देशक छौँ, आफै आफैँ छुट्टै चलचित्र पनि बनाउन सक्छौँ,तर छुट्टा छुट्टै चलचित्र बनाउँदा कमजोर नबनोस्,हलमा आएका दर्शक निराश भएर नफर्किउन् भनेर एक आपसमा मिल्छौँ। नेपाली चलचित्रमा सबै कुरा अन्तर्राष्ट्रिय स्तरको छ, एउटै कुराको कमी छ त्यो हो स्क्रिप्ट, त्यही स्क्रिप्ट को लागी अरु टिममा पनि धेरै धेरै साथीहरू एक आपसमा मिल्न जरुरी देखिन्छ। तपाईँहरूले मलाई व्यक्तिगत रुपमा गर्नुभएको अगाध माया र स्नेह शिरमा राखेको छु। केही गल्ती लेखेको भए तपाई पनि माफ गरिदिनुहोला। जय माफ दिवस। जय नेपाली चलचित्र।