महानायक विवादमा निर्माता, कलाकार तथा निर्देशक दीपकराज गिरीले आफ्नो विचार राखेका छन् । लामो समयसम्म पनि यस विषय मत्थर नहुँदा र दीपाश्री निरौलालाई अपमानजनक र आत्मसम्मानमा आँच आउने गाली र आरोप भएपछि सामाजिक सञ्जालमा आइतबार एक भिडियो सार्वजनिक गरेका हुन । गिरीले भिडियोमा नायक राजेश हमाललाई ‘महानायक’ होइनन् भन्ने अधिकार आफूलाई नभएको बताएका छन् । उनले एक ब्रान्डले अर्को ब्रान्डलाई आरोप लगाउन नहुने बताएका छन् । उनले एउटै क्षेत्रमा भएकोले एउटा ब्रान्ड टिमले अर्को ब्रान्ड कलाकारको विषयमा प्रश्न उठाउनु गलत हो र राजेश हमाललाई ‘महानायक’ होइन भन्ने अधिकार हामीसँग छैन भनेका छन् । उनले दीपालाई मात्र आरोप लगाएको नभएर सिङ्गो ‘छक्का पन्जा’को ब्रान्ड कै विरोध भएको समेत उल्लेख गरेका छन् । उनी भन्छन्, 'के तपाइले आफ्नो दिदी बहिनीको विषयमा पनि यस्तै शब्द प्रयोग गर्न सक्नुहुन्छ ?' यसैले ७५ प्रतिशत फेक आइडीबाट यो प्रहार भएको उनको भनाइ छ । उनले दीपाले महानायकको प्रसङ्ग उठाउँला यसरी गाली गर्ने र एउटा कलाकारलाई हीनताबोध सृजना गरिदिने सबैलाई मत राख्न नदिएर हामी कस्तो समाजको निर्माण गरिरहेका छौँ ? भनी प्रश्न गरेका छन् । दीपकले विवाद धेरै लम्बिएको र राजेश हमालका फ्यानहरूको मन दुखेको छ भने माफी माग्छु भनेका छन् ।