यति बेला चलचित्र कर्मीमाथि लक्षित गरी गालीगलौज र अश्लील प्रतिक्रिया आइरहेको छ । कलाकारलाई विभिन्न विषयले विवादमा तानिरहँदा पछिल्लो समय दीपाश्री निरौला विवादित बनेकी हुन् । लामो समय चलचित्र कर्मीमाथि लक्षित गरी गालीगलौज र अश्लील प्रतिक्रिया आएपछि नेपाली चलचित्रसँग सम्बन्धित विभिन्न ७ सङ्गठनहरूले संयुक्त वक्तव्य जारी गर्दै यस विषयमा ध्यान आकर्षण गरेको छ । सङ्गठनहरूले संयुक्त वक्तव्य जारी गर्दै चलचित्र कर्मीमाथि लक्षित गरी गालीगलौज र अश्लील प्रतिक्रिया आएकोमा संवेदनशील भएको जनाएका छन् । जारी वक्तव्यमा प्रतिक्रिया नरोकिएमा नेपालबाट आएको भए नेपालको साइबर कानुन र विदेशबाट आएको भए परराष्ट्र मन्त्रालयमार्फत कारबाहीको प्रक्रिया अगाडि बढाउने उनीहरूको चेतावनी दिइएको छ । 'सबैलाई अभिव्यक्ति स्वतन्त्रता संविधानले दिएको छ । अभिव्यक्त गर्न पाउनु व्यक्तिको अधिकार हो ।
अभिव्यक्ति स्वतन्त्रताको नाममा कसैको मानमर्दन हुनु, अश्लील आक्षेप लगाउनु, व्यक्तिगत चरित्र हत्या गर्नु, कसैको पनि अधिकार छैन । यस किसिमको हर्कत निन्दनीय मात्र होइन, अक्षम्य पनि हुन्छ ', वक्तव्यमा भनिएको छ । नेपाल चलचित्र सङ्घ, नेपाल चलचित्र कलाकार सङ्घ, नेपाल चलचित्र निर्माता सङ्घ, नेपाल चलचित्र प्राविधिक सङ्घ, नेपाल चलचित्र निर्देशक समाज, नेपाल चलचित्र द्वन्द्व सङ्घ, नेपाल चलचित्र नृत्य सङ्घले संयुक्त विज्ञप्ति जारी गर्दै यस्तो चेतावनी दिएका हुन् । चलचित्र कर्मी र दर्शकबिच अन्योन्याश्रित सम्बन्ध रहे पनि कुनै एक पक्षबाट शिष्टताको पराकाष्ठा नाघेमा कानुनी उपचारमा जानु बाध्यकारी हुन्छ भनिएको छ ।