आज निर्देशक तुलसी घिमिरेको जन्मदिन परेको छ । नेपाली चलचित्र क्षेत्रका सफल र दर्शकले मन पराएका निर्देशक कलाकार घिमिरेले एक समय नेपाली चलचित्र क्षेत्रलाई निर्देशन गरी फराकिलो दिशा तर्फ लगेका थिए । १९५१ जुलाई १५ मा कालिम्पोङमा जन्मेका तुलसी घिमिरेले आज आफ्नो ६९ औँ जन्मदिन मनाउँदै छन् । उनले दर्पण छाँया, देउता, कुसुमे रुमाल, लाहुरे, चिनो जस्ता सफल चलचित्र नेपाली फिल्म इन्डस्ट्रीलाई दिएका छन् । उनकै चलचित्रबाट नेपाली फिल्म इन्डस्ट्रीमा धेरै अभिनेता-अभिनेत्री जन्मिएका छन् जसले नेपाली चलचित्र क्षेत्रमा सफल र चर्चित कलाकारको रुपमा स्थापित भएका छन् । उनले निर्देशन तथा अभिनय गरेका चलचित्रले व्यावसायिक सफलता मात्र पाएनन् नेपाली चलचित्र व्यावसायिक रुपमा पनि सबल हुन सक्छन् भन्ने बनाइदिए । उनी करियरको सुरुवातमा बलिउड अभिनेता राज कपुर जस्तै बन्न चाहेको उनले बताउँदै आएका छन् । नेपाली चलचित्र क्षेत्रका गडफादरको रुपमा लिइने वरिष्ठ निर्देशक कलाकार तुलसी घिमिरेलाई जन्मदिनको शुभकामना!