नेपाल सङ्गीत तथा नाट्य राष्ट्रिय प्रज्ञा पुरस्कार-२०७६ द्वारा विभिन्न स्रष्टालाई सम्मान गरिएको छ । नेपाल सरकारले नेपाली नाट्य सङ्गीत क्षेत्रको प्रवर्द्धनका निम्ति यस पुरस्कार तथा सम्मान गर्दै आएको छ । २०७६ को लागी वरिष्ठ नाटककर्मीहरु रामहरि गुरुङ, हस्तबहादुर थापा, प्रचण्ड मल्ल, कुमार बस्नेत, नीर शाह र नारायणदेवी प्रधानलाई पुरस्कृत गरिएको हो । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले मङ्ग्लबार सिंहदरबारमा एक कार्यक्रमबिच वरिष्ठ नाटककर्मीहरुलाई पुरस्कृत गरेको हो । पुरस्कारको राशि जनही रु एक लाख र ताम्रपत्र रहेको छ । कार्यक्रममा पर्यटन मन्त्री भट्टराईले नेपाली नाट्य सङ्गीत क्षेत्रको प्रवर्द्धनका निम्ति पुरस्कारले हौसला प्रदान गर्ने विश्वास व्यक्त गरे । नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठानको आयोजनमा भएको उक्त कार्यक्रममा मन्त्री भट्टराईले विभिन्न स्रष्टाहरूको योगदानलाई कदर गर्दै स्थापना भएको पुरस्कार विभिन्न स्रष्टा तथा व्यक्तित्वहरूलाई प्रदान गरिएको बताइएको छ ।