यस वर्षको गाईजात्रा अलिक फरक र विशेष हुने भएको छ । कोरोना महामारीका कारण धेरै मानिस भेला हुन सम्भव नभएपछि गाइ जात्रामा आयोजना हुने हास्य व्यङ्ग्य कार्यक्रम हुने कुरै भएन । यस अघिका वर्षहरूमा निरन्तर आयोजना हुँदै आएको गाईजात्रा महोत्सव यस वर्ष स्थगित हुने अनुमान सबैले गरेका छन् । तर जहाँ इच्छा त्यहाँ उपाय भने जस्तै गाईजात्रा विशेष कार्यक्रमहरू आयोजना गर्न चुनौतीपूर्ण हुने भएकाले आयोजकले नयाँ उपाय लगाएको छ । लकडाउनले गर्दा घरमा नै सीमित भएर बसेका दर्शकको मनोबल उच्च बनाउन र मनोरञ्जन प्रदान गर्ने उद्देश्यका साथ साउन १५ गतेदेखि भर्चुअल 'गाईजात्रा विशेष कार्यक्रम’सुरु हुने भएको छ । यस कार्यक्रमको जानकारी सहित दर्शकलाई उत्साह थप्नको लागी कार्यक्रमको टिजर सार्वजनिक गरिएको छ, जसलाई दर्शकले निकै रुचाएका छन् भने आफुहरु उत्साहित भएको बताइरहेका छन् । सार्वजनिक टिजरमा हास्य कलाकार मनोज गजुरेल विश्व स्वास्थ्य सङ्गठन डब्लुएचओका प्रमुख टेड्रोस अधानोम गेब्रेयससको भूमिकामा देखिएका छन् । उनलाई ‘यूएस अन्डरएस्टिमेटेड अर्गनाइजेसन’ हो। संस्थाका प्रमुख हुन् –डाक्टर टेड्रोस अधोनाम गजुरेलस्को भूमिकामा देख्न सकिन्छ जुन निकै रोचक हुने अनुमान लगाउन सकिन्छ ।
हरेक वर्ष फरक भेष, भाषा, शैली र प्रस्तुतिसहित गाइ जात्रामा प्रस्तुत हुने गजुरेल यस वर्ष समय सान्दर्भिक र निकै चर्चामा रहेको डब्लुएचओका प्रमुखको भूमिकामा देखिन लागेका हुन् । यस अप्ठ्यारो परिस्थितिमा इम्युनिटी पावर बढाउनका लागि मानिसमा सकारात्मक ऊर्जा कायम रहन दिन पनि हाँसो र मनोरञ्जन आवश्यक छ भन्ने बुझेरै कार्यक्रम निर्माण गरेको उनै ‘यूएस अन्डरएस्टिमेटेड अर्गनाइजेसन’ का प्रमुख हुन् डाक्टर टेड्रोस अधोनाम गजुरेलस् अर्थात् मनोज गजुरेल ले ब ताएका छन् । कोरोना सङ्क्रमण फैलावटको जोखिम न्यूनीकरणका डिजिटल माध्यमबाट मनोरञ्जन प्रदान गर्न लागिएको आयोजक ब्राण्डवर्थले जनाएको छ । कार्यक्रम बारे प्रस्तोता कवि शैलेन्द्र सिंखडाले इम्युन पावर बढाउन हाँस्यको महत्त्व रहेको बताएका छन् । कार्यक्रमको सम्पूर्ण सुटिङ सकिएको बताइएको छ । यो कार्यक्रम साउन १५ देखि एक सातासम्म प्रसारणमा आउनेछ । कार्यक्रममा कलाकारहरू यमन श्रेष्ठ, पशुपति शर्मा, चट्याङ मास्टर, अर्जुन पराजुली, शैलेन्द्र सिंखडा, लक्ष्मण गाम्नागे , सिताराम कट्टेल, कुञ्जना घिमिरे र राजा राजेन्द्रको पनि प्रस्तुति रहनेछ । त्यस्तै कमेडी च्याम्पियनका हिमेश पन्त, सुमन कोइराला, खड्गबहादुर पुन मगर, मेक्सम गौडेल, सुमन कार्की, सुरेन्द्र केसी, जोगिन्दर पानवाला, सुबोध गौतम, दिनेश काफ्लेलगायतको प्रस्तुति रहने छ ।