विश्वभर महामारीको रुपमा कोरोना भाइरसले सम्पूर्ण कामहरू लामो समय रोकियो । लामो समय हरेक क्षेत्रका कामहरू रोकिँदा धेरै जनशक्ति मारमा परेका छन् भने सम्पूर्ण क्षेत्र नै धरापमा परेको छ । भाइरसको विश्वव्यापी महामारी फैलिँदै गरे पनि पछिल्लो समय भने मानिसहरू बिस्तारै पुरानै दैनिकीमा फर्किँदै छन्, फर्किने बाटो पनि खोजिरहेका छन् । यसै बिच व्यापार व्यवसायदेखि होटेल रेष्टुराँहरु खुल्ने क्रम बढिरहेको छ । हरेक क्षेत्र बिस्तारै सामान्य बन्दै जाँदा सङ्क्रमणको जोखिम बढेको विज्ञहरूले चेतावनी दिइरहेका छन् । संक्रमण जोखिम न्यूनीकरण गराउन राजधानीमा फिल्मकर्मी लागिपरेका छन् । एक फिल्मकर्मीको एक टिमले अभियान नै चलाएर जोखिम न्यूनीकरणको लागी कदम अघि बढाएको छ । चलचित्रकर्मी सामाजिक अभियन्ता करण श्रेष्ठसहितको टिमले कोरोनाबाट बच्न ‘अनिवार्य रुपमा मास्कको प्रयोग गरौँ’ नारा लिएर अभियान सुरु गरेको हो । राजधानीको अनामनगरबाट सुरु गरिएको अभियान प्रत्येक दिन अन्य स्थानमा फैलाउँदै लैजाने करणले बताए । यस अभियानको बारेमा बताउँदै करणले अहिले मास्कको उपयोगिता ‘वान टु वान’ बुझाउँदै गएको र नलगाई हिँड्नेलाई मास्क नै वितरण गरिरहेको बताएका छन् ।
योसँगै चोक चोक र धेरै भिडभाड हुने ठाउँमा साबुन र पानीको व्यवस्था गर्दै हात धुने वातावरण पनि बनाउँदै लगेको उनको भनाइ छ । जागौँ युवा अभियानको तर्फबाट सुरु गरिएको यो अभियानलाई अनामनगर हुँदै पुतलीसडक, मैतीदेवी, चाबहिल, बानेश्वर, कोटेश्वर, सातदोबाटो, जावलाखेल लगायत मानिसहरूको चाप हुने स्थानमा तीव्रता दिने उनले बताए । उक्त अभियानको नाममा कोरोनाबाट बच्ने सावधानीका उपायहरू लेखिएका चेतनामूलक पर्चा, पम्पलेटहरु समेत विभिन्न ठाउँमा टाँसिएको छ । दुई वर्ष पहिलेदेखि क्रियाशील यो अभियानको तर्फबाट अनामनगर क्षेत्रमा सयौँ बिरुवाहरू रोपिएका थिए ।