युवा अवस्था र मित्रताको बारेमा नयाँ टेलि सिरियल निर्माण हुने भएको छ । सलोन बस्नेतले 'साथ सधैँको' नामक टेलि शृङ्खला निर्माण गर्न लागेका हुन् । पछिल्लो समय चलचित्र भन्दा वेब सिरिज र शृङ्खलाहरूले दर्शकलाई आकर्षित गरिरहेका बेला कलाकार सलोन बस्नेतले एक भिन्न स्वादको टेलि सिरियल बनाउन लागेका हुन् । यस सिरियललाई सलोनले आफ्नै घरको स्टुडियोमा छायाङ्कन गर्दै छन् । केही समय यता उनका पिता अभिनेता सोभित बस्नेतले आफ्नै घरमा करोडौँको लगानीमा स्टुडियो निर्माण गरेका छन् । सलोनले आफूले निर्माण गर्न लागेको यस सिरियल अहिलेसम्मकै फरक स्वादको कमेडी सिरियल हुने बताएका छन् । युवाहरूलाई लक्षित गरेर आफूले यस सिरियल बनाउन लागेको बस्नेतले सिनेपाटीलाई बताएका छन् । डिसहोमको रमाइलो टिभीमा यही साउनबाट प्रसारण सुरु हुने सिरियललाई सुरेश न्यौपानेले निर्देशन गर्नेछन् ।
यसमा ओजस्वी राज थापा, सुमीन गुरुङ, प्रभात पल ठकुरी, इभा गिरी, अलिस्ता सुबेदी, मनिषा ओझा लगायत कलाकारको मुख्य भूमिका रहने छ । सुमीन र इभा पछिल्लो समय टिकटकमा निकै चर्चा कमाएका कलाकार हुन् भने अलिस्ता पूर्व भिजे हुन् । यस सिरियलका निर्माता सलोन बस्नेतले आफूले नयाँ अनुहारलाई लिएर युवा पुस्तामाझ फरक शैलीको कमेडी सिरियल ल्याउन लागेको उल्लेख गरेका छन् । पछिल्ला केही महिना यता मनोरञ्जनको दुनियाँ निकै सुनसान छ । कोरोना सङ्क्रमणको त्रास र लकडाउनले सुनसान मनोरञ्जनको दुनियाँमा पछिल्ला केही दिन यता केही चहलपहल देखिन थालेको छ ।