महानायक विवादमा अभिनेत्री दीपाश्री मात्र होइन अरू कलाकार पनि मुछिएका छन् । यति बेला दीपाले राजेश हमाल महानायक हुन् र ? भनी अभिव्यक्ति दिएको भिडियोसँगै भाइरल भएको अर्को भिडियो हो अभिनेता निर्देशक निश्चल बस्नेतको भिडियो । जसमा निश्चलले पनि दीपा कै आशयमा अभिव्यक्ति दिएका थिए । यसै अभिव्यक्ति दिएको भनी केही दिन अघि हाल अमेरिकामा बस्ने निर्देशक श्याम भट्टराईले फेसबुकमा आक्रोश पोखेका थिए । उनले अग्रज कलाकारप्रति निश्चलले सम्मान नगरेको मात्र भनेनन् 'तिम्रो र तिम्रो बुढीको पासपोर्ट कपी मैसँग छ धेरै नबोल' भन्दै धम्की पनि दिए । यस किसिमको धम्की आएपछि अभिनेत्री स्वस्तिमा खड्का अर्थात् निश्चलकी श्रीमतीले चिन्ता व्यक्त गरेकी थिइन् । यस विषयमा उनले चिन्तित हुँदै फेसबुकमा स्ट्याटस राखेकी थिइन् । उनले 'धेरै जनाले पासपोर्टको विषयलाई लिएर पासपोर्ट काण्ड के हो भनेर प्रश्न गरिरहनु भएको छ ? मैले कार्यक्रमको लागि भनेर पठाएको पर्सनल डकुमेन्टलाई लिएर यस्तो खालको धम्की आउनु आफैमा गलत प्रवृत्ति हो । त्यसरी प्रोफेसनल कामको लागि पठाएको पर्सनल इन्फरमेसनको कुराले बिना कारण धम्काउनु आफैमा अन प्रोफेसनल काम हो । उहाँ जस्तो प्रतिष्ठित अवार्डको आयोजकबाट मैले यस खाले गतिविधिको अपेक्षा गरेको थिइन् । आगामी दिनमा भने कलाकारहरूले कामको लागी पठाएको पर्सनल इन्फरमेसनको गलत प्रयोग हुने छैन भन्ने कुराको आशा राख्दछु' भनेकी थिइन् । उनले यस किसिमको चिन्ता व्यक्त गरेपछि निश्चललाई आरोप लगाउँदै आक्रोश पोख्ने निर्देशक भट्टराईले फेसबुक मार्फत नै यसको बारेमा जवाफ दिएका छन् ।
उनले आफूले कार्यक्रमको लागी लिएको पासवर्डको कुनै दुरुपयोग नगरेको दाबी गर्दै, 'स्वस्तिमा बहिनी, सर्वप्रथम त तपाईँ जस्तो प्रतिभाशाली कलाकारको म सधैँ प्रशंसक हो, तपाईँको अझ बढी उन्नति र प्रगतिको कामना गर्दछु । रह्यो कुरा पासपोर्टको, राजेश हमाल, भुवन केसी, शिव श्रेष्ठ जस्ता नेपाली चलचित्रका महान् हस्तीहरूलाई सम्मान गर्न लागिएको अवार्डमा यहाँहरूको पनि उपस्थित हुन इच्छा देखाएर प्रक्रियाको लागी पासपोर्ट कपी मलाई दिनु भएको हो । सो बाहेक अन्य कुनै प्रयोजनको लागी नदिएको र नलिएको जानकारी पनि तपाई हाम्रा सबै शुभचिन्तकलाई जानकारी गराउँदछु । यसरी उक्त समारोहमा उपस्थित हुन चाही अभिप्रेरित गरेको निर्देशक निश्चल बस्नेत ज्युको हृदयभित्र, तीनै हाम्रा अग्रज हस्तीहरूप्रतिको सम्मान चाही कुन स्तरमा रहेछ भन्ने कुरा सामाजिक सञ्जालमा प्रसारणमा आएको भिडियो देखेपछि हामी चलचित्र प्रेमी कसैलाई पनि अवश्य खुसी बनाएन र त्यस्तो थियो भने किन इच्छा जाहेर गर्नुभएको थियो त भन्ने आशयका साथ लेखिएको त्यो स्ट्याटसले तपाईँलाई पर्न गएको असुविधा प्रति म चिन्ता व्यक्त गर्दछु ।' लेखेका छन् । उनले माफी पनि मागे र गल्ती पनि स्वीकार गरे तर यसरी एउटा कलाकारले व्यक्तिगत प्रायोजनका लागी बुझाएको कागजातलाई बिचमा ल्याएर आफूलाई चित्त नबुझेको कुरालाई लिएर धम्की देखाउनु पक्कै राम्रो कुरा होइन । यसले एउटा कलाकारले विश्वास गरेर विदेशमा कार्यक्रमको लागी पेस गरेको कागजात साँच्चै सुरक्षित छन् त भन्ने प्रश्न पनि उठाएको छ ।