'गुलेली बन्दुक' बोलको गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । अमित सापकोटा र टिका सानुको स्वर रहेको गीत शनिवार युट्युबमा सार्वजनिक भएको हो । सार्वजनिक गीतमा सूर्य खड्काको सङ्गीत र अर्जुन सुबेदीको शब्द रहेको छ । आउँदै गरेको तीजको अवसरमा सार्वजनिक गरिएको यस गीतको भिडियोमा सुधीर श्रेष्ठ र गायिका टिका सानु फिचर्ड छन् । सुधीर पछिल्लो समय एक पछि अर्को म्युजिक भिडियोमा देखिइरहेका छन् । दर्शकले उनको अभिनयाँ र नृत्य निकै मन पराइरहेका छन् । गीतको भिडियोलाई शिव विकेले निर्देशन गरेका हुन् भने माधव श्रेष्ठले कोरियोग्राफी गरेका हुन् । यस वर्षको तीज कोरोना भाइरस महामारीले गर्दा केही फरक र रौनक कम हुने देखिए पनि तीजको कोसेली स्वरूप एक पछि अर्को तीज गीत सार्वजनिक भइरहेका छन् । यसै क्रममा गायिका टिका सानुले केही दिन अघि तीज गीत 'बुहारी भाग ३' सार्वजनिक गरेकी थिइन् जसलाई दर्शक श्रोताले मन पराइरहेका छन् ।