बलिउड अभिनेता सुशान्त सिंहले आत्महत्या गरेपछि बलिउडमा विभिन्न विषयमा बहस चलिरहेको छ । बलिउडमा नातावाद र समूहवाद रहेको र यसले बाहिरका कलाकारलाई टिक्न नदिने भन्ने आवाज पनि निकै उठेको छ । यस विषयमा खुलेर बोल्ने र विरोध गर्ने अभिनेत्री हुन् कङ्गना रनावत । उनले गत जुन १४ मा सुशान्तको आत्महत्या पछि केही भिडियो सन्देश सार्वजनिक गरेकी थिइन् जसमा सुशान्तको मृत्युको कारण बलिउड र त्यहाँ व्याप्त नातावाद भएको बताएकी थिइन् । कङ्गनाले बलिउडले दिएको दबाब र केही फिल्मकर्मीले मिलेर सुशान्तलाई बहिष्कार गरेको बताउँदै आएकी छिन् । उनले सुशान्तको आत्महत्या नभएर नियोजित हत्या भएको आरोप पनि लगाइरहेकी छिन् । यसै विषय चर्किरहँदा उनले एक भारतीय टेलिभिजनसँग अन्तर्वार्ता दिएकी छिन् जसमा उनले आफ्नो दाबी गलत साबित भए आफूले पाएको पद्मश्री फिर्ता गर्ने बताएकी छिन् ।
आफ्नो बोली प्रमाणित गर्न नसक्ने कुराहरू बोलेको भए आफू त्यस पुरस्कारको हकदार नहुने उनले स्पष्ट पारेकी छिन् । उनले यस विषयमा मुम्बई प्रहरीले आफूलाई केही प्रश्न गरेको र त्यस समय आफू मनालीमा भएका कारण प्रहरीले चाहेको खण्डमा आफ्नो बयान पठाउन तयार रहेको बताएको तर फेरी कुनै सूचना नआएको पनि उनले भनेकी छिन् । प्रहरीले बोलाउँदा बयान दिन नगएको भन्ने आरोप झुटो भएको उनले दाबी समेत गरेकी छिन् ।