अभिनेत्री साम्राज्ञी आर एल शाह र अभिनेता भुवन केसी बिचको आरोप प्रत्यारोपको सिलसिला अझै टुङ्गो लागेको छैन । यसै विषयलाई पक्ष विपक्ष गर्दै कलाकर्मी हरूले आफ्नो विचार राख्दै दुईमा एकको समर्थन गरिरहेका छन् । यसै बिच यस विषय केही सेलाइरहँदा फेरी एक पटक साम्राज्ञी बोलेकी छिन् । निर्देशक शोभित बस्नेतले पनि यो विषयमा आफ्नो भनाई राखेपछि उनी बोलेकी हुन् । एक भिडियो अन्तर्वार्ताको क्रममा निर्देशक बस्नेतले साम्राज्ञीको बारेमा आफ्नो प्रतिक्रिया दिएका थिए । उनले केसीको चलचित्रबाट डेव्यु गरेर स्टार बनेर अहिले उनलाई आरोप लगाउन जायज नरहेको आशयको अभिव्यक्ति दिएका थिए । साथै अभिनेत्री शाहलाई लक्षित गर्दै ‘वीरगन्जमा रिक्सा चढेर हिँड्ने मान्छे अहिले भुवन केसीकै कारणले गर्दा कार चढेर हिँड्ने भएकी छिन् ।

भुवनकै कारणले ‘ड्रिम्स’बाट स्टार भएको मान्छेले अहिले उनैलाई आरोप लगाउन मिल्छ ?’ भनी प्रश्न समेत गरेका थिए । साम्राज्ञीले यस विषयमा बोल्दै, ‘एक जना मानिसले मैले वीरगन्जमा रिक्सा चढेर हिँड्थ्यो भन्नुभएछ । म उहाँलाई त व्यक्तिगत रूपमा चिन्दिनँ । तर, उहाँको छोरा मेरो राम्रो साथी हो । हो, म वीरगन्जमा रहँदा रिक्सा चढ्थेँ । यसपछि, म दिल्लीमा बसेर पढेँ । अहिले काठमाण्डौमा छु । ठुला–ठुला कार चढौँ कि के गरौँ त्यो मेरा कुरा हो । रिक्सा चढ्दैमा मान्छे सानो हुन्छ र ?’ भन्ने प्रश्न गरेकी छिन् । उनले आफ्नो साथी(सलोन बस्नेत) साथी निकै राम्रो मान्छे भएको तर उसको पिताको मानसिकता सस्तो भएको उल्लेख गरेकी छिन् । शाहले सलोनसँगै चलचित्रमा काम पनि गरिसकेकी छिन् । उनले कस्ता कस्ता मानिसहरू आफ्नो विरुद्धमा बोलिरहेका छन् ? भनी आफूले दुर्व्यवहार परेको कुरा बाहिर ल्याउँदा उल्टै आफ्नै अपमान र आफूलाई नै नराम्रो देख्नेहरू प्रति प्रश्न तेर्स्याएकी छिन् ।

यसरी आफ्ना भोगाइ बाहिर ल्याउँदा सम्पूर्ण फिल्म जगतको कमजोरी बाहिरिन सक्छन् तर एउटै परिवारका सदस्यले एक अर्कालाई आरोप लगाउने र आत्मसम्मान नगर्ने हो भने दर्शकको नजरमा सम्पूर्ण चलचित्र क्षेत्र कति सम्मानित हुन्छ त्यो सोच्ने बेला भने आएको छ ।