चलचित्र पत्रकार संघ नेपालले चार पत्रकारलाई सम्मान गरेको छ । संघले कोरोना भाइरसले नेपाली चलचित्र क्षेत्रमा पारेको प्रभाव, उत्पन्न समस्या र त्यसको समाधानसहितको सोध, खोज र वस्तुगत तथ्याङ्कमा आधारित प्रतिवेदन, लेख रचना तथा धारणा सम्बन्धी प्रतियोगिता आयोजना गरेको थियो । प्रतियोगिताका लागी आएका मापदण्ड पुरा गरेका मध्यबाट उत्कृष्ट चारलाई पुरस्कृत गरेको हो । समितिले गरेको मूल्याङ्कनको आधारमा ४ उत्कृष्ट लेखका विजेतालाई गत शनिवार संघको कार्यालयमा पुरस्कृत गरिएको हो । प्रतियोगितामा पत्रकार ध्रुव लम्साल प्रथम, दोस्रो विष्णु शर्मा, तेस्रो मनोज न्यौपाने र चौथो रीना मोक्तान भएका हुन् । विजेतालाई प्रमाणपत्रसहित क्रमशः १५ हजार, १० हजार र तृतीय र चौथो हुनेलाई समान ५र५ हजारका दरले प्रदान गरिएको हो ।

संघले प्रतियोगिताको छनौट समितिमा रहेका पत्रकार विदुर गिरी, शान्तिप्रिय, दिपेन्द्र लामा, जीवनकुमार पराजुली र समीर बलामीलाई पनि धन्यवादसहित प्रमाण पत्र प्रदान गरेको छ । नेपाली चलचित्र क्षेत्रको वर्तमान अवस्था र भविष्यमा यस क्षेत्रलाई कसरी सहज बनाउन सकिन्छ भन्ने सम्भावनाको खोजीका यस्ता अभियानले चलचित्र पत्रकारमा लेखन वृत्तिको अभ्यास र प्रोत्साहन मिल्ने संघको ठहर छ । यसबारे बोल्दै संघका अध्यक्ष दिनेश सिटौलाले आगामी दिनमा सदस्यहरूका लागि भिडियो र फोटो पत्रकारितालाई प्रभावकारी हुने गरी केही कार्यक्रमहरूको समेत संघले आयोजना गर्ने बताएका छन् भने लेख रचनामा सहभागी, विजेता तथा छनौट समितिलाई बधाई र धन्यवाद व्यक्त गरेका छन् ।