निर्देशक दीपेन्द्र के खनाल अर्ग्यानिक स्वादको चलचित्रको लागि अब्बल मानिन्छन् । गत वर्ष उनले  निर्देशन गरेको चलचित्र 'आमा'ले फेरी पनि यो कुरा पुष्टि गरिदिएको छ । निर्देशकको साथमा कुशल सिनेम्याटोग्राफ़र खनालले 'पशुपति प्रसाद' जस्तो उत्कृष्ट चलचित्र नेपाली फिल्म इन्डस्ट्रीलाई दिएका छन् । योसँगै उनको उत्कृष्ट चलचित्रको सूचिमा पर्न सफल भयो 'आमा' । यस चलचित्रलाई दीपेन्द्रले निर्देशन गरेका हुन् भने शर्मिला पाण्डेले निर्माण गरेकी हुन् । आमा सफल भएपछि फेरी निर्देशक दीपेन्द्र र निर्मात्री शर्मिलाको सहकार्यमा नयाँ चलचित्र निर्माण हुने भएको छ । समीक्षागत र व्यापारिक रुपमा नै सफलता पाएपछि उत्साहित उनीहरू पुनः सामाजिक कथा वस्तुमा नै आधारित भएर चलचित्र बनाउन लागेका हुन् । यति बेला चलचित्रको स्क्रिप्ट फाइनल भइरहेको र दसैँपछि छायाङ्कनको अनुमति मिलेपछि चलचित्र फ्लोरमा जाने निर्मात्री पाण्डेले बताएकी छिन् । निर्देशक खनाल आफैले चलचित्रको कथा लेखिरहेका छन् । उनका अनुसार स्क्रिप्टको एउटा खाका बनिसकेको छ । दर्शकले आफ्नो टिमबाट सामाजिक कथाका चलचित्र नै बढी अपेक्षा गर्न थालेको र नयाँ चलचित्रमा पनि समाजमा घटेकै कथालाई स्थान दिइने पाण्डेको भनाइ छ । चलचित्र आगामी वर्ष रिलिज गरिने टिमको लक्ष रहेको छ ।