दर्शक तथा समीक्षकबाट उम्दा प्रतिक्रिया मिलेको चलचित्र 'प्रसाद'को सिक्वेल बन्ने भएको छ । निर्देशक दिनेश राउतले निर्देशन गरेको यस चलचित्रको दोस्रो भाग भने सौरभ चौधरीले निर्देशन गर्ने भएका छन् । डेढ वर्ष अगाडि प्रदर्शनमा आएको नम्रता श्रेष्ठ र विपिन कार्कीको मुख्य भूमिका रहेको चलचित्रको यति बेला स्क्रिप्टको काम भइरहेको छ । चलचित्रको कथा अहिले सुशील पौडेलले नै लेखिरहेका छन् । चलचित्रलाई सुभाष थापाले निर्माण गर्दै छन् । चलचित्र दसैँपछि फ्लोरमा जाने बताइएको छ भने चलचित्रका लागि कुनै पनि कलाकार अनुबन्धित नभएको निर्माण पक्षले जानकारी दिएको छ । यद्यपि पुरानै दोहोरिने सम्भावना रहेको बुझिएको छ । चलचित्रलाई ‘प्रसाद’को प्रिक्वेलको रूपमा निर्माण गरिने लेखक पौडेलले बताएका छन् ।