सोमबार गायक अरुण थापाको २१ औँ स्मृति दिवस मनाइयो । शुभारम्भ द म्युजिकल जर्नी र भक्तपुर साङ्गीतिक समाजले संयुक्त रूपमा साङ्गीतिक कार्यक्रम आयोजना गरेको थियो । कोरोना भाइरस रोकथाम र लकडाउनबिच आयोजित कार्यक्रममा सीमित मानिस सहभागी भएका थिए भने कार्यक्रम आम दर्शक श्रोताका लागि सामाजिक सञ्जालमार्फत प्रत्यक्ष प्रसारण गरिएको थियो । क्यान्सरका कारण ४७ वर्षको उमेरमा निधन भएका गायक थापा २१ वर्षअघि साउन ५ गते निधन भएको थियो । कार्यक्रममा अरुण थापाका ९ वटा लोकप्रिय गीत म्युजिकल ट्र्याकमा गाएर प्रस्तुत गरिएको थियो । यसै गरी उनको सम्मानमा भक्तपुरका स्थानीय कलाकारहरू गौतम श्रेष्ठ, विनय कोजु, अन्जना श्रेष्ठ, नबिन्द्र लाल कर्माचार्य, गङ्गाराम रंजीतकार, प्रवीण शाही, सहकुल अच्छामी, रामहरि ताम्राकार, अधिश्री कसपाल, सर्वश्री कसपाल र रोशन धौभडेलले स्वर्गीय गायक अरुण थापाका गीतहरू प्रस्तुत गरेका थिए । यसै गरी करोडौँ मुटुहरूको एउटै, चोट के हो लगायत केही लोकप्रिय गीत प्रस्तुत गरिएको थियो ।