अभिनेता अनुपविक्रम शाहीले आज आफ्नो ३५औँ जन्मदिन मनाएका छन् । सामाजिक कार्यमा सक्रिय शाहीले गत वर्षहरूझैँ आफ्नो जन्मदिनमा भव्य कार्यक्रम आयोजना गरेनन् । बरु उनले आफ्नो जन्मदिन मनाउने खर्च कटाएर बालबालिकालाई सहयोग गरेका छन् । शाहीले केही समय यता टोखा स्थित 'हाम्रो बाल संरक्षण धरोहर नेपाल' नामक बाल आश्रमका बालबालिकाको लागी सहयोग गरिरहेका छन् । उनले आज आफ्नो जन्मदिन पनि उही आश्रमका बालबालिकासँगै मनाएका छन् । उनले आश्रमका बालबालिकासँगै बसेर केक मात्र काटेनन् बरु उनीहरूको पढाइमा सहयोग पुर्‍याउन ६ थान ल्यापटप प्रदान गरेका छन् ।

उनले त्यहाँ रहेका ३० जना बालबालिकाको सहजता र शिक्षाका लागि ल्यापटप प्रदान गरेको र छिट्टै इन्टरनेट पनि जोड्ने तयारी गरिरहेको बताएका छन् । जन्मदिनको दिनमा ल्यापटप प्रदान गर्न पुगेका शाहीलाई आश्रित बालबालिकाले स्वागत गरेका थिए । उनले बालबालिकाको अगाडी बस्दा आनन्द आउने र उनीहरूलाई आफू र आफ्ना साथीहरू मिलेर सहयोग गर्दा खुसी लाग्ने उनले बताएका छन् । उनले ल्यापटप वितरण गर्दै गर्दा यस अभियानमा आफू मात्र नभएर आफ्ना सहयोगी साथीहरू पनि भएको उल्लेख गरेका छन् । अनुप ४ विगत ४५ महिना यता बालबालिकासँग जोडिएको बताए ।  

जन्मदिनमा अनुपले दिए बालबालिकालाई ल्यापटप उपहार