विवेक घिमिरे निर्देशन गरेको चलचित्र ‘चिनी कम रङ्ग कडा’मा अभिनेता सुशील सिटौलाको मुख्य भूमिका रहेको छ । चलचित्रलाई विवेक घिमिरेले निर्देशन गरेका हुन् । १८ वर्षदेखि अमेरिकामा बस्दै आएका विवेकले ‘होस्टेल रिर्टन्स’ बाट चलचित्र क्षेत्रमा डेब्यु गरेका सुशील सिटौलालाई आफ्नो चलचित्रमा लिए । ‘होस्टेल रिर्टन्स’ काठमाडौँ पढ्न आएको एक विद्यार्थीको भूमिका निभाएका सिटौलाको अभिनय दर्शकले मन पराए र उनी यसै भूमिकाबाट पनि चिनिए तर त्यसयता उनका अन्य चलचित्रले खासै दर्शकको मन जित्न सकेनन् । चलचित्र ‘चिनी कम रङ्ग कडा’ सन् २०१७मा नै निर्माण भएको थियो तर चलचित्र विभिन्न कारणले गर्दा हलमा रिलिज हुन सकेन । निर्माण पक्षले चलचित्र रिलिज गर्ने योजना बनाउँदै गर्दा कोरोना महामारीले योजना अगाडी बढ्न दिएन । यसैबिच हलमा रिलिज हुने अवस्था नभएपछि टिमले अमेरिकाको अमेजन प्राइमबाट यो चलचित्र रिलिज गर्‍यो । चलचित्र रिलिज भएपछि दर्शकले मन पराएको र राम्रो प्रतिक्रिया आएको कलाकार सुशील सिटौला, अनु थापा र सुर्या थापाले बताएका छन् । सिनेपाटी टिभीको एक अन्तर्वार्तामा चलचित्रका आ-आफ्नो अनुभव सुनाएका छन् ।

अनु नेपालको पहिलो नेशनल एक्टिङ कम्पिटिशनकी विजेता हुन् । उनले चलचित्रमा चिया बेच्ने एक युवतीको भूमिका निभाएकी छिन् । उनले चलचित्रका दौरान पाटनमा चिया समेत बेचेको सुनाएकी छिन् । आफूले आफ्नो भूमिकालाई सक्दो न्याय गरेको उनको भनाइ छ । आफ्नो लागी निकै फरक अनुभूति र फरक खालको भूमिका भए पनि यसका लागी गर्नु पर्ने मेहनत सक्दो गरेको कुराकानीमा सुनाइन् । साथै अभिनेता सुशीलले पनि यस चलचित्रमा आफूले रुचाएको भूमिका पाएको ब ताएका छन् । उनले यस अघी आफूले काम गरेको चलचित्रले विभिन्न उल्झन व्यहोर्न परेकाले काम गरेपछि अनेक समस्या आउने र यसले आफूलाई सङ्घर्ष गर्न सिकाउने सुनाउँछन् । यसै गरी सुर्या थापाले आफूले सुशीलले यस चलचित्रको लागी गरेको मेहनत देखेर धेरै कुरा सिकेको बताइन् । उनले आफूले काम गरेको चलचित्र हल मा रिलिज होला भनी सपना देखेको तर लामो समयसम्म रिलिज नहुँदा जसरी भए पनि चलचित्र भए राम्रो हुने थियो भन्ने लागेको सुनाइन् । आफूले काम गरेका र काम गर्न लागेका चलचित्रको काम नहुँदा आफ्ना परिवारले विश्वास गर्नै छाडेको कुरा साँटेकी छिन् ।