आज शुक्रवार नेपाली सिने बजारमा दुई आशा गरिएको चलचित्र प्रदर्शन हुदैँ छन् । जसमा अभिनेता निखिल उप्रेती चलचित्र 'रुद्र' र प्रदीप खड्का अभिनित चलचित्र 'प्रेमगीत २' रहेको छ । लभ स्टोरीको साथमा भरपूर एक्सन रहेको दुई चलचित्र एकै साथ आज हलहरुमा प्रर्दशन भइरहेको छ ।
रामजी लामिछाने निर्देशित चलचित्र रुद्रमा निखिल पहिलो पल्ट भिलेनको अवतारमा प्रस्तुत भएका छन् । यसै चलचित्रबाट नव नायिका सारा र नायक विश्व शर्माले डेव्यु गरेका छन् । बुधवार चलचित्रको प्रमियर सो आयोजना गरिएको थियो । जसमा चलचित्रले राम्रो प्रतिक्रिया पाएको थियो ।
यता सन्तोष सेनको निर्माणमा रामशरण पाठकको निर्देशनमा बनेको चलचित्र 'प्रेमगीत २' दुई वर्ष अघि बनेको चलचित्र 'प्रेमगीत'को सिक्वेल हो । चलचित्रमा प्रदीप खड्काको मुख्य भूमिका रहेको छ भने नव नायिका अश्लेषा ठकुरीले डेव्यु गर्दै छिन् । चलचित्रको बुधवार बुकिङ खुल्ला गरिएको थियो । बुकिगंमा चलचित्रले उत्साहजनक एडभान्स बुकिङ गरेको छ ।