भुवनले आफूमाथि दुर्व्यवहार गरेको भन्दै साम्राज्ञीले सामाजिक सञ्जालमार्फत आरोप लगाएपछि चुलिएको आरोप प्रत्यारोपले कानुनी बाटो समाएको छ । यसै विषयलाई लिएर अभिनेता भुवन केसीले जिल्ला अदालत काठमाडौँमा अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाहविरुद्ध मुद्दा दर्ता गरेका छन् । केसीले शुक्रवार शाहविरुद्ध गाली बेइज्जती मुद्दा दर्ता गराका हुन् । यसबारे अदालतका सूचना अधिकारी ज्ञानबहादुर कार्कीले आधिकारिक जानकारी दिएका छन् । कार्कीले मुद्दा दर्ता भएको र अब कारबाही प्रक्रिया अगाडि बढ्ने बताएका छन् । यसबारे साम्राज्ञीले भने आफूलाई कुनै जानकारी नआएको बताएकी छिन् । आफूहरूलाई मुद्दाबारे कुनै औपचारिक जानकारी नआएको उनको परिवारले जानकारी दिएको छ । यस अघी अभिनेता केसीले यसअघि चलचित्र कलाकार सङ्घमा साम्राज्ञीले आफूमाथि झुटो आरोप लगाएको भन्दै छानबिन गरिदिन उजुरी दिएका थिए ।